गभर्नरका आकांक्षीबीच इगो बढ्दै, चिन्तामणि र महाप्रसादको फाइल पनि मिनी संसदमा

  २०७६ कार्तिक १८ गते १२:३२     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ छानबिनमा तानिएसँगै अर्को डेपुडी गभर्नर चिन्तामणि शिवाकोटी र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको फाइल सरकारको मिनी संसदमा पुगेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ अनियमिता गरेको आरोपमा छानबिनमा तानिएसँगै अन्य दुई गभर्नरका आकांक्षी शिवाकोटी र अधिकारीको फाइल समेत मिनी संसद (संसदीय समिति)मा पुर्याएर इगो बढाइएको छ ।

डेपुटी गभर्नर श्रेष्ठको छानबिन प्रक्रिया अघि बढेसँगै डेपुटी गभर्नर शिवाकोटी र अधिकारीको फाइल पनि समितिमा पुगेको हो । मिनी संसदले डेपुटी गभर्नर श्रेष्ठको फाइलमा छानविन नगरी शिवाकोटी र पूर्व डेपुटी गभर्नर तथा हाल लगानी बोर्डका सीईओ अधिकारीको फाइलमाथि छानविन गर्ने भएको छ । स्रोतका अनुसार मिनी संसदले शिवाकोटी र अधिकारीलाई छुट्टछुट्टै बोलाएर छलफल गर्ने भएको छ ।

शिवाकोटीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्न नसकेको, बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले असुल गर्नुपर्ने रकममा छुट दिएकोलगायतका आरोप सहित फाइल मिनी संसदमा पुगेको हो । मिनी संसदले शिवाकोटीको फाइल झण्डै ५० पेजभन्दा बढी छ । यस सम्बन्धमा डेपुटी गभर्नर शिवाकोटीले आफूले गल्ती गरेको भए राज्यले जस्तोसुकै सजाय दिएपनि भोग्न तयार रहेको बताएका छन् ।

शिवाकोटीसँगै सीईओ अधिकारीको फाइल समेत मिनी संसदमा पुगेको छ । अधिकारी राष्ट्र बैंकमा डेपुटी गभर्नर हुँदा गरेका अनियमिताको फाइल मिनी संसद पुगेको स्रोतकाे दावी छ ।  सीईओ अधिकारीले भने सरकारलाई आफ्नो काम गर्न दिनुपर्ने बताए ।

अर्को डेपुटी गभर्नर श्रेष्ठले भने आफूलाई गभर्नर बन्न नदिने षडयन्त्र गरेको बताइसकेका छन् । उनलाई अनियमितता गरेको आरोपमा राष्ट्र बैंकले छानबिन गर्न तीन सदस्यीय समिति समेत गठन गरेको छ ।

राष्ट्र बैंकका सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा गठित समितिले श्रेष्ठले गरेको अनियमितताको विषयमा छानबिन गरी प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन आएपछिमात्रै त्यसैको आधारमा श्रेष्ठलाई कारवाही गर्ने वा सफाई दिने विषयको टुंगो लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.