ग्लोबल आइएमई र जनता बैंकबीच मर्ज गर्ने सहमति, लगानीकर्तालाई राम्राे प्रतिफल दिने प्रतिवद्धता

  २०७६ असार २० गते १४:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई र जनता बैंक नेपालबीच मर्ज गर्ने सहमति भएको छ । शुक्रबार विहान दुई बैंकका सञ्चालक समितिबीच समझदारी भएको हो । उक्त समझदारी राष्ट्र बैंकमा समेत बुझाई सकिएको ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
मर्जपछि बैंकको नाम ग्लोबल आईएमई बैंक हुनेछ । बैंकको अध्यक्ष चन्द्रप्रसाद ढकाल नै रहने छन् । प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री हुने छन् । उनी हाल जनता बैंकमा प्रमुख कार्यकारी अधिकृत हुन् ।

त्यस्तै, सञ्चालक समितिमा जनता बैंकबाट दुई जनाले प्रतिनिधित्व गर्नेछन् । मर्जको क्रममा सेयर स्वाप रेसियो ग्लोबल आईएमई बैंकको १०० र जनता बैंकको ८५ रुपैयाँ गर्ने समझदारी भएको छ ।

मर्जर सम्बन्धि राष्ट्र बैंकको कार्यविधि अनुसार डीडीए रिपोर्टका आधारमा स्वाप रेसियो १० प्रतिशतसम्म तलमाथि हुने सक्ने जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले जानकारी दिए ।

नेपाल सरकारको नीति, राष्ट्र बैंकको निर्देशनको पालना गर्दै दुई बैंक मर्ज गर्ने समझदारी गरेको आईएमई बैंकका अध्यक्ष ढकालले बताए । ‘राष्ट्र बैंकले ८ अर्ब पुँजी पुर्याउने नीतिलाई पनि सहयोग गर्दै हामीले पहिलोपटक ८ अर्ब पुँजी पुर्याएका थियौं । हालै सरकारले बजेटमा ठूला बैंकलाई मर्ज गराउने नीति लिएपछि पनि हामीले पहिलो पटक ठूलो मर्जको निर्णय लिएका छौं’ विकासन्युजसँग कुरा गर्दै ढकालले भने ।मर्जर प्रक्रिया ४ महिना भित्र टुङग्याउने सहमति भएको उनले बताए ।

मर्जपछि ठूलो र बलियो बैंक बन्ने
दुई बैंकबीच मर्ज हुँदा बलियो र प्रभावकारी वाणिज्य बैंक बन्नेछ । चुक्ता पुँजी, निक्षेप, कर्जा लगानीको हिसावले यो बैंक सबैभन्दा ठूलो र शाखा सञ्जालको हिसावले दोस्रो ठूलो बैंक बन्नेछ ।

मर्जपछि चुक्ता पुँजी १७ अर्बभन्दा बढी हुनेछ । हाल ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । यस्तै, जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ रहेको छ । हालको पुँजीको योग १८ अर्बभन्दा बढी भएपनि स्वाप रेसियो मिलाउँदा पुँजी १७ अर्ब ३ करोड रुपैयाँ हुनेछ ।

बैशाख मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको निक्षेप १ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । जनता बैंकको ७१ अर्ब रुपैयाँ निक्षेप छ । दुबै बैंकको निक्षेप १ खर्ब ८८ अर्ब रुपैयाँ हुनेछ । मर्जपछि दुई बैंकको शाखा २७८ वटा हुनेछन् । हाल जनता बैंकको शाखा १४१ रहेका छन् भने ग्लोबल आईएमईको शाखा १३७ वटा रहेका छन् ।

‘हामी ठूलो बैंक बन्दै छौ । हाम्रो जोखिम बहन गर्ने क्षमत पनि बढेको छ’ ढकालले भने-‘बैंकले दिने सेवाको स्तर पनि बढाउँछौं । लगानीकर्ताले पनि पहिला भन्दा राम्रो प्रतिफल पाउने वातावरण बन्छ ।’

ग्लोबल आइएमई १२ वर्ष र जनता बैंक १० वर्ष पुरानाे बैंक हो । दुबै बैंकसँग विभिन्न चरणमा मर्ज हुँदै अगाडि बढेकाे अनुभव छ । यी दुई बैंकको मर्जसँग अरू बैंकलार्इ पनि मर्जमा जान दवाव पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.