सामाजिक सुरक्षा कोषमा आवद्ध हुने कामदारलाई एक प्रतिशत कर छुट

  २०७६ जेठ २१ गते १८:३९     विकासन्युज

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सहभागी हुने कामदारलाई एक प्रतिशत कर छुट दिने भएको छ । आर्थिक विधेयक-७६ ले रोजगार व्यक्तिलाई लाग्दै आएको एक प्रतिशत कर छुट दिने व्यवस्था गरेको हो ।

सरकारले आगामी आवदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध हुने तथा भएका प्राकृतिक व्यक्ति (कामदार) लाई लाग्दै आएको एक प्रतिशत कर छुट दिने व्यवस्था गरेको आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले जानकारी दिए । ‘सरकारको यो योजनामा सामेल भएका रोजगारले अब एक प्रतिशत कर तिर्नु पर्दैन,’ उनले भने ।

सामाजिक सुरक्षा कोष ऐन-२०७४ बमोजिम स्थापना भएका सामाजिक सुरक्षा कोषको आयमा कर नलाग्ने व्यवस्था मिलाएको बजेटमा उल्लेख गरिएको छ । सरकारले आर्थिक वर्ष २०६६/६७ देखि प्रत्येक श्रमिकसँग एक प्रतिशतका दरले कर लगाउँदै आएको छ । आयमा एक प्रतिशत कर लाग्ने व्यवस्था थियो । अब सरकारले सो कर नलिने भएको छ । सरकारले गत मंसिर ७ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

सामाजिक सुरक्षा कोषमा रोजगारदाताले श्रमिकको आधारतभूत (वेसिक) पारिश्रमिकबाट ११ प्रतिशत कट्टा गरी र श्रमिकको आधारभूत पारिश्रमिकको २० प्रतिशत रकम थप गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्नेछ । यो कार्यक्रमलाई प्रोत्साहन गर्न तथा सफल बनाउन सरकारले बजेटबाटै रोजगारलाई यो सुविधा दिएको हो । मुलुकमा सञ्चालित सबै रोजगारदाता संस्थाहरू यो कार्यक्रममा अनिवार्य आवद्ध हुनुपर्ने व्यवस्था छ ।

सरकारले गरेको नयाँ व्यवस्थाले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा काटेर वाँकी हुन आएको रकम ६९ प्रतिशतमा एक प्रतिशत कर लाग्दैन प्रवक्ता ढुंगेलले भने । सरकारले एकल व्यक्तिका लागि चार लाख रुपैयाँ र दम्पत्तीका लागि साढे चार लाख रुपैयाँसम्म आय भएकालाई एक प्रतिशतमात्रै कर लाग्ने व्यवस्था गरेको छ । योे सीमासम्म आय आर्जन गर्दै आएका कामदारले एक प्रतिशत कर तिर्नु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.