लोकसेवाले नयाँ कर्मचारीका लागि विज्ञापन खुलायो, माग १४ हजार, विज्ञापन ९ हजारको मात्रै

  २०७६ जेठ १५ गते ८:३६     विकासन्युज


काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि ९ हजारभन्दा बढीको संख्यामा नयाँ कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन आह्वान गरेको छ । आयोगले स्थानीय तहमा रिक्त रहेको कर्मचारी अभावलाई कम गर्न बिभिन्न सेवा समूह तथा उपसमूहका लागि कर्मचारी भर्नाको आह्वान गरेको हो ।

लोकसेवाले यति ठूलो संख्यामा पहिलोपटक विज्ञापन खुलाएको हो । स्थानीय तहका लागि नयाँ पाठ्यक्रम अनुसार परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । विज्ञापनमा माग गरिएका पदहरुमा इच्छुक उम्मेदवारले असार ३ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

कहिलेसम्म दिन सकिन्छ आवेदन ?

असार १० गतेसम्म दोब्बर दस्तुर तिरी आवेदन दिन सनिने आयोगले जनाएको छ । विज्ञापनसँग सम्बनिधत आयोगका धनकुटा, इलाम, खोटाङ, जलेश्वर, हेटौँडा, काठमाडौँ, पोखरा, बाग्लुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर कार्यालयले तोके अनुसार परीक्षा केन्द्र कायम गरिने आयोगले जनाएको छ । साथै लोक सेवा आयोग जलेश्वरबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र सिरहा जिल्लाको लाहान र पर्सा जिल्लाको वीरगञ्जमा तथा लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट विज्ञापन हुने पदको परीक्षा केन्द्र डोल्पा र हुम्ला जिल्लाको सदरमुकाममा समेत कायम गरी परीक्षा सञ्चालन हुने जनाएको छ ।

कति लाग्छ शुल्क ?

तह ९ का लागि खुल्लाको रु.१२०० र समावेशी प्रत्येक समूहका लागि थप ५०० सय दस्तुर लाग्नेछ । त्यस्तै तह ६ का लागि रु.१००० र समवेशी प्रत्येक समूहका लागि ४०० लाग्नेछ । यता, तह ५ का लागि रु.४०० र समावेशी प्रत्येक समूहका लागि २०० तथा तह ४ का लागि रु.३०० र समावेशी प्रत्येक समूहका लागि थप रु. १५० दस्तुर लाग्नेछ ।

देशभरका ५५५ स्थानीय तहले १४ हजार ६ सयको संख्यामा कर्मचारी माग गर्दै विवरण पठाएको भएपनि आयोगले हालका लागि ९ हजार बढीको संख्यामा मात्र भर्ना आह्वान गरेको हो । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार बाँकी कर्मचारीका लागि बढुवा, आन्तरिक प्रतिस्पर्धा तथा पुनः नयाँ भर्ना प्रक्रियाद्वारा गरिनेछ ।

कर्मचारी समायोजनलगायतका कारण आयोगको नियमित प्रक्रियाअनुसार कर्मचारी भर्ना हुन सकेको थिएन । आयोगले चौंथो तहदेखि नवौं तहसम्म कर्मचारी भर्ना आह्वान गरेको हो ।

सरुवा बढुवा र सुविधामा स्थानीय तहकै नियम
लोकसेवा आयोगका अनुसार यसरी भर्ना गरिएका कर्मचारीको नियुक्ति प्रक्रियादेखि सरुवा बढुवासम्मको अधिकार स्थानीय निकायलाई हुनेछ । हाल भर्ना गरिएका कर्मचारी संघ तथा प्रदेशमा जान पाउने छैनन् । अहिले समायोजनमा गएका कर्मचारी र नयाँ भर्ना गरिने कर्मचारीको व्यवस्थापनसमेत फरक हुने आयोगको भनाइ छ । स्थानीय निकायका आआफ्ना नियम कानुनअनुसार स्थानीय तहले कर्मचारीको सेवा सुविधा उपलब्ध गराउनेछन् ।

आयोगका देशभर रहेका १४ स्थानका कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहका लागि भने देशभर एकै प्रकारको पाठ्यक्रम र परीक्षा प्रणाली रहेको छ । मुलुकभर रहेका ७५३ मध्ये ५५५ तहले मात्र कर्मचारी आवश्यक रहेको विवरण पठाएका थिए । समायोजनपछि स्थानीय तहले ठूलो मात्रामा कर्मचारी समस्या झेलिरहेका छन् ।

आवश्यक मात्रामा कर्मचारी नहुँदा जनअपेक्षाअनुसार काम गर्न नसकेको स्थानीय तहले गुनासो गर्दै आएका छन् । यद्यपि, हाल खुलाइएको भर्ना प्रक्रियाबाट मात्र कर्मचारीको अभाव पूरा हुने नसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ ।

स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक तर्फका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन(संक्षिप्त विवरण)

स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक तर्फका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन(विस्तृत विवरण)

स्थानीय तहको पाठ्यक्रम

यस्तो छ नयाँ कार्यतालिका ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.