काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलंकीमा गाडी रोक्न नदिने भएको छ । ट्राफिक जाम अत्याधिक हुन थालेपछि यातायातको व्यवस्थापन गर्न बैशाख २२ गतेदेखि कंलकीमा गाडी रोक्न नपाइने ट्राफिक प्रहरीले जनाएको छ । कलंकीमा अन्डर पास सञ्चालमा आएपनि कहाँ गाडी रोक्ने भन्ने नियम नहुदा जामको समस्या हुँदै आएको थियो ।
शनिवार सवारी चालकलाई जानकारी गराउने र आइतवारदेखि कलंकीमा गाडी रोक्न नदिने नियम कार्यान्वयन हुनेछ । बल्खुतर्फबाट आउने यातायात साधन खसीबजारमा, कालिमाटी तर्फबाट आउनेलाई कलंकी मन्दिरमा, थानकोटतर्फबाट आउने यातायातलाई ढुङ्गे अड्डामा र स्वयम्भुबाट आउने गाडी स्वीचाटारमा रोक्ने व्यवस्था मिलाउन लागेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक प्रमुख बसन्त पन्तले जानकारी दिए ।

यातायात मजदुरलाई परिचय पत्र र पोशाक
यसैगरी, ट्राफिक प्रहरीले यातायात मजदुरहरुलाई व्यवस्थित र मर्यादित बनाउन परिचयपत्र र छुट्टै पोशाक प्रयोग गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, यातायात व्यवसायी, चन्द्रागिरि नगरपालिका र यातायात व्यवसायीको सहयोगमा ट्राफिक प्रहरीले अव्यवस्थित रुपमा खोलिएका काउन्टर हटाउने जनाएको छ ।
सरकार र यातायात व्यवसायीहरुको सहकार्यमा यातायात मजदुर हो भनेर चिन्नका लागि ड्रेस र परिचय पत्रको व्यवस्था गर्न लागेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । पहिले चरणमा काठमाडौंमा लागु हुने र त्यसपछि देशैभर लागु हुने उनले बताए ।
अव्यवस्थित टिकट काउन्टर हटाइने
यता, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले उपत्यका क्षेत्रको यातायात व्यवस्थापन गर्नका लागि अव्यवस्थित टिकट काउन्टर हटाउन लागेको बताए । सडक सुरक्षालाई नै असर पुग्ने गरी अव्यस्थित रुपमा सञ्चालनमा रहेका टिकट काउन्टरहरुलाई व्यवस्थित गरिने र उपत्यका भित्र नियम विपरित सञ्चालन भइरहेको पेट्रोल पम्महरुलाई पनि बन्द गराउने आचार्यले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले अव्यवस्ति तरिकाले सञ्चालन भइरहेको टिकट काउन्टर हटाउने निर्णय गर्दा कसैले विरोध गर्नु औचित्य नहुने बताए । नयाँ बसपार्कमा विभिन्न सपिङ सेन्टर र मलले साँघुरो पारेकाले नयाँ बसपार्कमा सबै बसहरु राख्न नसकिएकोमा यातायात व्यवसायीहरुले गुनासो गरेका छन् ।