उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन

  २०७५ चैत २७ गते ९:२२     विकासन्युज

काठमाडौं । उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन भएको छ । मंगलबार राती भारतको चेन्नईमा उनको निधन भएको पारिवारिक स्राेतले जनाएको छ ।

गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै निधन भएको हो । करिब एक महिनादेखि उनकाे उपचार भारतमा भइरहेकाे थियाे । उनको पार्थिव  शरीर भोलिसम्म काठमाडौँमा ल्याइने र पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । ६७ वर्षका उनका दुई छोरा छन् ।

गोल्छाको अग्रसरतामा हुलास स्टील, हुलास वायर, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका दर्जनाै उद्योग स्थापना भएको थिए । उनकाे नेतृत्वमा  गाेल्छा अर्गनाइजेशन नेपालकाे सबैभन्दा ठूलाे व्यवसायिक घरानाकाे रूपमा स्थापित भएकाे थियाे ।

अझै पनि गाेल्छा अर्गनाइजेशन नेपालमा सबैभन्दा धेरै संख्यामा राेजगारी सिर्जना गर्ने व्यासायिक घरानाकाे रूपमा परिचित छ ।विराटनगरलाई मुख्य औद्याेगिक आधार क्षेत्र बनाएर व्यवसाय गर्दै आएकाे यस अर्गनाइजेशनकाे व्यवसायलाई देशव्यापी बनाउने नेतृत्व काम उनैले गरेका थिए ।

बीपी काेइरालाकाे पाला देखि नै नेपाली काँग्रेस नजिक भएका गाेल्छाकाे गिरिजाप्रसाद काेइरालासँग पनि राम्राे सम्बन्ध थियाे । उनी २०६४ मा गठन भएकाे संविधानसभामा काँग्रेसबाट समानुपातिक सभासद थिए ।  पहिलाे संविधानसभाकाे प्राकृतिक स्राेत साधान बाँडफाँड समिति सदस्य समेत रहेका गाेल्छाले उक्त समितिबाट सर्बसहमतिमा प्रतिवेदन तयार गर्न निकै ठूलाे भूमिका खेलेका थिए ।

गाेल्छा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष समेत हुन् । उनी दुई पटकसम्म महासंघकाे प्रथम उपाध्यक्ष रहेका भए । चण्डिराज ढकाल महासंघ अध्यक्ष सर्बसहमत हुँदा त्यसपछिकाे अध्यक्ष दिवाकर हुने सहमति भएकाे तर ढकाल दाेस्राे पटक अध्यक्ष बन्न उम्मेदवार बनेपछि गाेल्छाले धाेका भएकाे बताउँदै अध्यक्षकाे आकांक्षा त्यागेका थिए । उनकाे समर्थन पाएकाे उम्मेदवार कुशकुमार जाेशीले महासंघकाे अध्यक्ष जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.