काठमाडौं। अष्ट्रेलिया सरकारले एआईबिटीका विद्यार्थीलाई सहयोग गर्ने बताएको छ। अष्ट्रेलिया सरकारको शिक्षा विभागले भर्खरै सिड्नीको एआईबिटी कलेजको दर्ता खारेज भएर अन्योलमा बसेका विद्यार्थीहरुको लागि सुचना निकाल्दै यस्तो बताएको हो।
सयौंको संख्यामा नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआईबिटी) को दर्ता अस्ट्रेलिया सरकारले खारेज गरेको थियो। कलेजको दर्ता खारेजीसँगै अध्ययनरत सयौं नेपाली विद्यार्थीहरु प्रभावित भएका छन्। सिड्नी र ब्रिसबनमा रहेको उक्त कलेजले विद्यार्थी ल्याउने समयमा अनैतिक व्यावसायिक तरिका अपनाएको भन्दै अस्ट्रेलियाको प्राविधिक शिक्षालाई नियमन गर्ने निकाय अस्ट्रेलियन स्किल क्यावालिटी अथोरिटी (आस्क्वा) ले दर्ता खारेज गरेको हो।
सुचना जारी गर्दै अष्ट्रेलियाको शिक्षा विभागले विद्यार्थीहरुलाई हाल संलग्न भईरहेको एआईबिटीबाट आफ्नो नाम नहटाउन भनेको छ।एआईबिटीमा अध्ययन गरिरहेको कोर्स आफुखुसी छोडेमा अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले विद्यार्थीको क्षती बेहोर्ने छैन।
विद्यार्थीले भिसा मापदण्ड पूरा गर्न एआईबीटीद्वारा संचालित कुनै प्रकारको कक्षा वा काम आधारित प्रशिक्षणमा भाग लिईरहनु पर्ने सरकारले जनाएको छ।
भिसाको मापदण्ड पुरा नगरेको अवस्थामा अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले विद्यार्थीलाई कुनै पनि प्रकारको सहयोग नगर्ने बताएको छ। यदी एआईबिटीद्वारा कक्षाहरु संचालन भईरहेको छैन भने अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसलाई सम्पर्क गर्न सुचनामा बताईएको छ।
विद्यार्थी कक्षा जान किन आवश्यक छ ?
– भिसाको मापदण्ड पुरा गर्नको लागि विद्यार्थीहरु आफ्नो कक्षाहरु लिईराख्नु पर्नेहुन्छ। यदी विद्यार्थीले डिप्लोमा ईन नर्सिङ गर्दै छ भने उसले एआईबिटीबाट संचलित कक्षा र ट्रेनिङ तथा प्लेसमेन्टमा गईरहनु पर्ने छ।
के हुन्छ एआईबिटी बन्द भयो भने ?
– यदी एआईबीटी बन्द भयो भने, एआईबिटीले विद्यार्थीलाई लागि उपयुक्त बैकल्पिक कोर्समा भर्ना गराईदिनुपर्ने हुन्छ र उक्त कोर्स मिलाईदिन नसके एआईबिटीले विद्यार्थीको खर्च नभएको ट्युसन फि फिर्ता गर्नुपर्ने हुन्छ।
– यदी एआईबिटीले सही समयमा यसो नगरेमा अष्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले उक्त काम गर्ने छ।
के हो खर्च नभएको ट्युसन फि ?
– खर्च नभएको ट्युसन फि भनेको विद्यार्थीले कलेजलाई बुझाएको पैसा हो, उदाहरणको लागि : यदी कुनै विद्यार्थीले १० हप्ताको कोर्सको लागि १० हजार डलर तिर्छ तर उसको ७ हप्ताको कक्षा मात्र संचालन हुन्छ भने उसले ३०० डलर फिर्ता पाउनुपर्छ।

