त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्ने तयारी, काभ्रेको नागीडाँडामा अध्ययन शुरु

  २०७५ वैशाख १६ गते १४:४२     खेमराज श्रेष्ठ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गरिने भएको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा विमानको चाप अधिक भएपछि आन्तरिक उडानलाई अलग गर्न लागिएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलका अनुसार आन्तरिक उडान अलग गर्न काठमाडौंबाट नजिक पर्ने स्थानहरुमा प्राधिकरणले अध्ययन गरिरहेको छ ।‘पहिले काभ्रे जिल्लाको ठुली चौरमा विमानस्थल निर्माणको सम्भावना रहेको थियो तर स्थानीय वासिन्दा र नगरपालिकाले असहयोग गरेपछि अहिले काभ्रे जिल्ला बनेपाको नागी डाँडामा अध्ययन गर्ने टोली खटाइएको छ’, पौडेलले विकासन्युजसँग भने ।

बनेपाको नागी डाँडामा प्रारम्भिक अध्यायनको प्रतिवेदन आइसकेको एरिड्रोम इन्जिनियरिङ विभागका इन्जिनियर नलविक्रम थापाले बताए । ‘नागीडाँडामा विमानस्थलको सम्भावना रहेको छ अहिले प्रारम्भिक चरणको अध्ययन सकिएको छ, सो स्थानमा विमानस्थल निर्माणको लागि स्थानीय वासिन्दा लगायत सबै पक्षले सहयोग गर्नु पर्छ’, थापाले भने ।

इन्जिनियरिङको रिपोर्टमा नागरिक उड्डयन तथा मन्त्रालयले छलफल गर्नेछ । छलफलबाट पारित भएपछि विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्नेछ । नागी डाडामा विमानस्थल निर्माणको लागि सामान्य भन्दा धेरै खर्च लाग्ने इन्जिनियरहरुले प्रारम्भिक अनुमान गरेको छ । नागीडाँडा ठुलीचौर भन्दा उत्तम स्थल हो तर यसलाई काठमाडौंसँगको यातायात सञ्जालमा जोडिनुपर्ने अधिकृत पौडेलले बताए ।

दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रुपमा हेरिएको निजगढ विमानस्थलको काम ढिलो हुने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न लागिएको हो । अहिले निजगढ अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २ वर्षभित्र सम्पन्न गर्नेगरी विमानस्थल चार किल्ला वरिपरी सडक निर्माण, रुख कटानी र सुरक्षाको काम भैरहेको छ ।

विमानस्थल अहिले त्रिभुवन विमानस्थलमा दैनिक २१ घण्टासम्म सञ्चालनमा रहेको छ । आन्तरिक उडानले नै ६५ प्रतिशत ओगट्ने भएकोले अन्तराष्ट्रिय उडानमा समस्या पर्ने गरेको विमानस्थलका अधिकारीहरु बताउछन् ।

एक मात्र अन्तराष्ट्रिय विमानस्थल व्यस्त बन्दा जहाजहरु अवतरण गर्न ४५ देखि १ घण्टासम्म आकासमै पर्खनु पर्ने समस्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.