सल्यान । ऊर्जामन्त्री जनार्दन शर्माले भारतीय सरकारी कम्पनी इइएसएलसँगको एलइडी बल्ब खरिद प्रक्रिया नरोकिने घोषणा गरेका छन् । उनले एलइडी बल्ब खरिद प्रक्रियामा बाहिर आएजस्तो कुनै चलखेल नभएको स्पष्ट पार्दै उज्यालो नेपाल अभियानका लागि बल्ब खरिद प्रक्रिया नरोकिने बताएका हुन् ।
गृह जिल्ला रुकुम जाने क्रममा श्रीनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले भने, बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा हो, यसमा कुनै चलखेल भएको छैन । उनले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन पनि दिए ।
मंगलबार मात्रै काठमाडौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भावुक हुँदै बल्ब खरिद प्रक्रियामा अनियमितता भएको प्रमाण फेला परेमा आफु झुण्डिन तयार रहेको बताएका थिए ।
सार्वजनिक खरिद ऐन छलेर २ अर्ब भन्दा बढि रकमको समान खरिद गर्न लागेको भन्दै मन्त्री शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना भैरहेको छ ।
प्राधिकरणले भारत सरकारको पुर्ण स्वामित्वमा रहेको इइएसएल कम्पनीसँग २ करोड थान एलइडी बल्ब खरिद गर्ने सम्झौता गरेको छ । सो कम्पनीले प्रति बल्ब ६५ भारतीय रुपैंयाँमा(१०४ रुपैंयाँ)मा हेटौँडासम्म बल्ब ल्याइदिने भनेको छ । त्यसमा २० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तथा १० प्रतिशत सेवा शुल्क थपेर प्राधिकरणले उपभोक्तालाई बेच्ने मोडालिटी बनिरहेको छ ।
टेण्डर बिना नै ठुलो रकमको खरिद गर्न लागेको भन्दै उनीहरुको आलोचना भएपछि मन्त्री शर्माले पनि उर्जा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर दुःखेसो पोखेका थिए ।