काठमाडौं । चालू आर्थिक वर्षमा सरकारी र निजी क्षेत्रबाट गरिएको लगानीबाट आठ खर्ब ७८ अर्ब ६० करोड रुपैयाँ स्थिर पुँजी निर्माण हुने अनुमान गरिएको छ । यस वर्ष हुन लागेको पुँजी निर्माण गत आर्थिक वर्षको तुलनामा दुई खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ बढी हो । गत वर्ष सरकारी र निजी दुवै क्षेत्रको योगदानबाट ६ खर्ब ४७ अर्ब २९ करोड रुपैयाँ बराबरको पुँजी निर्माण भएको थियो ।
राजनीतिक वातावरण तथा भूकम्पले थिलो बनाएको अर्थतन्त्रमा आएको सुधार पुँजी निर्माणको संकेत भएको केन्द्रीय तथ्यांक विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए । ‘पछिल्लो समय निजी क्षेत्रबाट पनि ठूला उद्योग व्यवसायमाा स्थापना भएका छन्,’ उनले भने ‘कृषि क्षेत्रको उत्पादकत्व बढ्नुका साथै भएका उद्योगको पनि उत्पादकत्व बढ्न थालेको छ ।’
यस वर्ष निजी क्षेत्रबाट भएको लगानीले ६ खर्ब ८९ अर्ब ३१ लाख पुँजी निर्माण गरेको छ । गएको वर्ष निजी क्षेत्रको लगानीबाट चार खर्ब ८६ करोड ७९ लाख पुँजी निर्माण गरेको थियो । विगतका वर्षको तुलनामा बन्द÷हडताल कम हुँदै जानु, निर्माण सामग्रीको उत्पादन बढ्नु सोहीअनुरुप सरकारी र निजी दुवै क्षेत्रको आयोजना तथा भौतिक पूर्वाधार तथा भवन निर्माण कार्य बढ्नुले उत्पादित समान खपत भई पुँजी निर्माण करिब सवा दुई खर्बभन्दा बढीले वृद्धि भएको हो । नयाँ उद्योगधन्दा स्थापना हुने क्रम बढ्दो छ भने विद्युत्को सहज आपूर्तिपछि पुराना उद्योग पनि पूर्णक्षमतामा सञ्चालनमा आएका छन् ।
कुल पुँजी निर्माणमा सरकारभन्दा निजी क्षेत्रको योगदान बढी छ । यस वर्षको पुँजी निर्माणमा निजी क्षेत्रको योगदान ७८.४५ प्रतिशत र सरकारी क्षेत्रको योगदान २१.५५ प्रतिशत छ । पछिल्ला वर्ष उद्योगमा श्रम समस्या समाधान हुनुका साथै विद्युत् आपूर्ति तथा कच्चा पदार्थको सहजताले उद्योग पूर्णक्षमतामा सञ्चालन हुन थालेका छन् । यसै कारण उत्पादन बढ्न गएको र बढेको उत्पादनले पुँजी निर्माण गर्न सहयोग पुगेको भट्टराईले बताए ।
यसका साथै पूर्वाधार, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत समग्र क्षेत्रको उत्पादकत्व बढेका कारण पुँजी निर्माणमा वृद्धि भएको हो । यसको सिधा असर नेपालीको प्रतिव्यक्ति आयमा देखिएको छ । देशभित्र रोजगारी सिर्जना हुँदा नेपालीको प्रतिव्यक्ति आय (जीएनआई) गएको वर्षको तुलनामा करिब ११ हजार अर्थात ९५ अमेरिकी डलरले बढेको छ । चालु आवमा प्रतिव्यक्ति आय आठ सय ६२ डलर पुग्ने अनुमान विभागको छ । गएको वर्ष अमेरिकी डलरमा प्रतिव्यक्ति आय सात सय ६७ थियो । पुँजी निर्माण भएका कारण नेपालको जीडीपी र जीएनआई दुवै बढेको हो ।
पछिल्लो समय सरकारले देशलाई आत्मनिर्भर बनाउन पुँजी निर्माणलाई प्राथमिकता दिँदै उत्पादकत्व बढाउने, रोजगारी सिर्जना गर्ने तथा समग्रमा गरिबी निवारण गर्ने लगायतका परियोजनालाई प्राथमिकता दिएको छ । निजी क्षेत्र पनि लगानीमैत्री वातावरण बनेको भन्दै लगानी गर्न हौसिएका छन् ।
सरकारका तर्फबाट माथिल्लो तामाकोसी, मेलम्ची खानेपानी, हुलाकी राजमार्गलगायत अन्य सडक, गौतमबुद्ध विमानस्थल सिँचाइलगायत ठूला परियोजना निर्माणले लिएको गति लिएको छ । सरकारी ठूला परियोजना निर्माणले लिएको गति र साना परियोजनासमेत ठेक्कामा लागेकाले सरकारले गरेको खर्चले पनि पुँजी निर्माण गर्न सहयोग पु¥याएको हो । सरकारले भूकम्पपछि व्यवस्थित बसोबासका लागि विशेष योजना ल्याएको छ ।
हाल भएको पुँजी निर्माण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को एक तिहाइ हो । यस वर्ष नेपालको जीडीपी २५ खर्ब ९९ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । गएको वर्ष नेपालको जीडीपी २२ खर्ब ४७ अर्ब थियो ।