
हाल नेपालमा विसं २०६९ मा स्थापना भएको इक्रा नेपालले मात्र कम्पनी तथा व्यावसायिक सङ्घसंस्थाको रेटिङ तथा ग्रेडिङको काम गर्दै आएको छ । अब केयर नेपाल पनि छिटै काम थाल्ने प्रक्रियामा अघि बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. विनोद आत्रेयले बताए । ‘बोर्डले तोकेको मापदण्डअनुसार आवश्यक कागजात बुझाउँदै छौं,’ उनले भने ।
गत मङ्सिरमा नै साझेदारसँग सहमति भए पनि सेबोनको अनुमति र भारतीय शेयरबजार नियामक सेबी तथा केन्द्रीय बैङ्कको समेत अनुमति लिनुपर्ने भएकाले करीब ५ महीना लागेको डा. आत्रेयले बताए । नेपालमा रेटिङ कम्पनी सञ्चालन हुन विदेशी साझेदारको न्यूनतम ५१ प्रतिशत शेयर स्वामित्व हुनुपर्ने प्रावधान छ । यसै प्रावधानअनुसार केयर नेपालमा केयर इण्डियाको ५१ प्रतिशत लगानी छ भने बाँकी इमर्जिङ नेपाल, विशाल ग्रूपलगायत सातओटा कम्पनीको लगानी छ ।
सेबोनका सहप्रवक्ता निरञ्जय घिमिरेका अनुसार क्रेडिट रेटिङ नियमावली २०६८ बमोजिम सो संस्थालाई अनुमति दिइएको हो । यसले क्रेडिट रेटिङ व्यवसाय थप प्रतिस्पर्धी हुने र सेवा गुणस्तरीय तथा सहज हुने बोर्डको विश्वास रहेको उनले बताए ।
के हो क्रेडिट रेटिङ?
कम्पनीको वित्तीय अवस्था, जोखीमको स्थितिका साथै प्रतिफल दिन सक्ने क्षमतालगायतका विस्तृत मूल्याङ्कन गर्नु नै क्रेडिट रेटिङ हो । सेबोनका अनुसार ३ करोड रुपैयाँभन्दा बढीको प्राथमिक शेयर निष्कासन गर्ने कुनै पनि सङ्गठित संस्थाले अनिवार्य क्रेडिट रेटिङ गराउनुपर्ने नियम छ । राष्ट्र बैङ्कले पनि ऋणीहरूको समेत रेटिङ गर्ने व्यवस्था गर्ने बताएको छ ।
केयर नेपालले अहिले तोकिएअनुसार नै धितोपत्र, ऋणपत्रलगायतको रेटिङबाट काम थाल्ने जानकारी दिएको छ । अन्तरराष्ट्रिय अभ्यासको तुलनामा नेपाल यो क्षेत्रमा धेरै पछाडि परेको छ । भारतमा सन् १९८७ बाट क्रेडिट रेटिङ शुरू भए पनि नेपालमा भने करीब ४–५ वर्ष अघिदेखि मात्र शुरू भएको देखिन्छ । नेपालमा क्रेडिट रेटिङको धेरै अवसर भएको सरोकारवालाको भनाइ छ । यहाँ बैङ्क तथा वित्तीय संस्थाको, बीमा कम्पनी, पब्लिक कम्पनीलगायत कम्पनी धेरै छन् । नेपालमा भएको वित्तीय संरचनाअनुसार यसको मार्केट र सम्भावना धेरै भएको सञ्चालक डा. आत्रेयको भनाइ छ । (अभियान दैनिकबाट)