काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा करिब ६ गुणाले वृद्धि हुने भएको छ । सरकारले झन्डै २ दशकअघि हस्ताक्षर गरेको एक सम्झौताअनुसार बीमा रकम वृद्धि गर्न लागेको हो ।
साबिकको २० हजार डलरलाई वृद्धि गर्दै १ लाख १३ हजार डलर पुर्याउन लागिएको हो । हवाई यात्रुको बिमा रकम अन्तर्राष्ट्रिय मापदण्डबराबर पुर्याउन सन् १९९९ मै क्यानडामा भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ‘मोनट्रियल कन्भेन्सन’ मा हस्ताक्षर गरिसकेको छ ।
हस्ताक्षर गरे पनि उक्त कन्भेन्सन हालसम्म पनि सरकारले अनुमोदन नगर्दा बीमा रकमसमेत बढ्न सकेको छैन । ‘मोनट्रियल कन्भेन्सन’ ड्राफ्ट संसदबाट पास गर्नुपर्ने भएकाले पर्यटनले कानुन मन्त्रालय पठाएको उपसचिव प्रमोद नेपालले जानकारी दिए । “कानुन मन्त्रालयले संसदमा पठाउने तर पास भएपछि बीमा रकम बढाउने निर्णय मन्त्रालयले गर्नेछ,” उपसचिव नेपालले भने ।
मन्त्रालयले निर्णय गरेपश्चात अर्थको स्वीकृति लिएर कानुन मन्त्रालय पठाएको हो । संसदले पास गरेपछि उक्त कन्भेन्सन अनुमोदन हुने र कार्यान्वयमा जाने नेपालले बताए ।पर्यटन मन्त्रालयले ६ दशकपछि हवाई यात्रुको बिमा रकम बढाउन अनुमोदनको लागि ड्राफ्ट कानुन मन्त्रालय पठाएको हो ।
सरकारले अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिन आगामी एक वर्षभित्र सवै प्रक्रिया टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेपालले जानकारी दिए । बिमा रकम नबढाए नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रिय उडानमा समस्या पर्ने भएकोले पनि यो अनिवार्य जस्तै बनेको छ । सन् १९५५ को ‘हेग प्रोटोकल’मा २० हजार डलर कार्यान्वयनमा गएको थियो । नेपालले हालसम्म पनि सोही दर कार्यान्वयनमा राखेको छ । उक्त समयभन्दा अगाडि सन् १९२९ मा १० हजार डलर तोकिएको थियो ।
जापान, अमेरिका, युरोप तथा आईकाओका अधिकांश सदस्य राष्ट्रहरूले बिमा रकम सन् १९७७ मै ७५ हजार डलर पुर्याएका थिए । हाल उक्त देशहरूले १ लाख १३ हजार डलर कार्यान्वयनमा लगेका छन् । तर नेपालले भने हालसम्म पनि सन् १९५५ को हेग प्रोटोकलले तयार पारेको २० हजार डलर कार्यन्वयनमा राखेको छ । नेपालले मोनट्रियल कन्भेन्सन मात्र नभइ केपटाउन कन्भेन्सन समेत अनुमोदन नेपालले गर्नुपर्नेछ ।
विश्वका धेरै देशहरूले १ लाख १३ हजार डलर बीमा रकम कार्यान्वयनमा लागिसकेको बताउँदै अब नेपालले पनि सोही दरमा कार्यान्वयनमा जानु पर्दछ । कार्यान्वयनमा गएपश्चात नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमायल एयरलाइन्सलाई लागू गर्नुपर्ने बाध्यता हुनेछ ।
नेपाल आउने अधिकांश एयरलाइन्सहरूले हाल १ लाख १३ हजार डलरको हवाई यात्रु बीमा गरेका छन् । मन्त्रालयले राष्ट्र बैंक, बैंकर, अर्थ मन्त्रालय, बीमा समिति, एयरलाइन्स कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स लगायत सरोकारवालासँग छलफल समेत गरिसकेको छ ।
अन्तर्राष्ट्रिय एयरलाइन्ससँगै आन्तरिक एयरलाइन्सहरूको पनि बीमा रकम बढाउने तयारी सरकारले गरेको छ । अन्तर्राष्ट्रियको हकमा कन्भेन्सनको अनुमोदन अनिवार्य भएपनि आन्तरिकको हकमा नेपाल आफैंले बीमा रकम तय गर्नेछ ।
आन्तरिकतर्फ पनि हाल २० हजार डलर नै बीमा रकम रहेको छ । मन्त्रालयले आन्तरिकतर्फ पनि ५० देखि ६० हजार डलरसम्म बनाउने तयारी गरेको छ । यात्रुकाे बीमा रकम बढेसँगै हवार्इ बीमा प्रिमियम रकम पनि बढ्नेछ । (काराेबारबाट)