काठमाडौं । नेपाल धितोपत्र बोर्डले जथभावी सूचना नचुहाउन संगठित संस्थाहरुलाई सचेत गराएको छ । नेप्सेमा सूचिकृत संस्थाहरुले सेयर बजारलाई प्रभाव पार्नेे खालका सूचनाहरु जभाभावी सार्वजनिक गरेको भन्दै बोर्डले आपक्ति समेत जनाएको छ ।
बोर्डले बुधबार प्रेस विज्ञप्ति नै जारी गरेर संचालक समिति, साधारण सभा/विशेष साधारण सभाबाट आधिकारिक निर्णय हुनु अगाडी नै कम्पनीका अध्यक्ष÷संचालक तथा प्रमुख कार्यकारी अधिकृत सहितका उच्च स्तरका कर्मचारीले सूचना चुहाएर सेयर बजारलाई प्रभावित पारेको भन्दै त्यस्तो गतिबिधी रोक्न भनेको हो ।
जथाभावी सूचना प्रवाह हुँदा सेयर बजारका लगानीकर्ताहरु प्रभावित भई धितोपत्रको बजार मूल्यमा असर पर्नुका साथै लगानी कर्तालाई नोक्सानी भएको पनि बोर्डको निष्कर्ष छ । बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई आधिकारिक व्यक्तिबाट मात्र त्यस्त सूचना सार्वजनिक गर्न निर्देशन दिएको छ ।
सो निर्देशिका अनुसार नगरेमा बोर्डले सम्बन्धित कम्पनीको धितोपत्रको कारोवार रोक्का गर्ने लगायतका कारबाही गर्ने चेतावनी पनि दिएको छ ।