काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानीको पैसा नतिर्ने १९ मन्त्रालय तथा सरकारी निकायलाई पत्राचार गरेको छ । खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम उपाध्यायले आफ्नो फेसबुक मार्फत खानेपानीको महशुल नतिर्ने मन्त्रालयहरुको नाम सार्वजनिक गरेका हुन् ।
सचिव उपाध्यायका अनुसार अर्थ मन्त्रालय, रक्षा मन्त्रालय लगायत १८ वटा मन्त्रालयले खानेपानीको पैसा तिरेका छैनन् ।
बुधबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कृषि मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, कानुन तथा न्याय मन्त्रालय, विज्ञान तथा प्रबिधी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र लोकसेवा आयोगलाई खानेपानीको महशुल तिर्न पत्र काटेको हो ।
केयुकेएलले यस अघि नै रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, वन मन्त्रालय, भूमि सुधार मन्त्रालय, परराष्ट्र मन्त्रालय, सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा मन्त्रालय र आपुर्ति मन्त्रालयलाई पानीको महशुल तिर्न पत्र काटिसकेको थियो ।