काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । नेप्से ७.१७ अंक अर्थात् ०.२७ प्रतिशतले बढेर २६२९.४० बिन्दु मा बन्द भएको हो ।
लगातार चार कारोबार दिन घटिरहेको नेप्से परिसूचक बिहीबार भने हरियालीमा बन्द भएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । बुधबार ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३४५ कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर ४७ हजार ९१९ पटक किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ ।
बिहीबार माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो । माउन्ट एभरेष्ट पावर लगातार सातौं कारोबार दिन र सर्वोत्तम पेन्ट्स लगातार छैटौं कारोबार दिन सकारात्मक सर्किटमा पुगेका हुन् ।
यस्तै, एनआईसी एशिया सेलेक्ट फण्ड–३० को इकाइ मूल्य ६.५ प्रतिशतभन्दा बढी बढ्यो । भने कुमारी धनवृद्धि योजना को इकाइ मूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशत ले घट्यो ।
कारोबार रकमका आधारमा नौ वर्षे कृषि विकास बैंक बन्ड शीर्ष स्थानमा रह्यो । यस बन्डको ५० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको ३० करोड रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको करिब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्यो भने ७ उपसमूह घटे ।
सबैभन्दा धेरै जलविद्युत उपसमूह ०.९९ प्रतिशतले उकालो लाग्यो । साथै बैंकिङ, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूह पनि सामान्य अंकले बढेका छन् ।