नामी भिगो ई२ सार्वजनिक, ३५.९९ लाख रुपैयाँमा पाइने

काठमाडौं । एमएडब्लू वृद्धि मोटर्सले नेपाली बजारमा नामी भिगो ई२ फुल एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले नाडा अटो शो अवधिभरका लागि यसको विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

कम्पनीका अनुसार नाडा अटो शो सकिएपछि भिगो ई२ को नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । थप प्रिमियम सुविधा चाहने ग्राहकले ८ लाख रुपैयाँ थपेर भिगो ई२ प्लस संस्करण रोज्न सक्नेछन् । ई२ प्लसमा मुनरुफ र आर–१८ टायरलगायत अतिरिक्त सुविधा उपलब्ध छन् ।

गाडी सार्वजनिक कार्यक्रममा एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल, डोङफेङ मोटर कर्पोरेसनकी दक्षिण एसिया क्षेत्रीय प्रबन्धक नोएमी, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, निर्देशक पार्थ सिकारिया, प्यासेन्जर कार डिभिजनका उपाध्यक्ष सन्दीप चटर्जी तथा प्रमुख कार्यकारी अधिकृत प्रसन्न पन्त सहभागी थिए ।

कार्यक्रममा अध्यक्ष अग्रवालले नयाँ राष्ट्रिय बजेटपछि विद्युतीय सवारीमा आएको सकारात्मक प्रभावलाई ग्राहकसम्म पुर्याउने उद्देश्यले भिगो ई२ को मूल्य पुनःसमायोजन गरिएको बताए । उनले कम मूल्यमा पनि फुल एसयूभीको स्पेस, क्षमता र ड्राइभिङ अनुभवमा कुनै सम्झौता नगरिएको दाबी गरे ।

कम्पनीका अनुसार भिगो ई२ दैनिक सहरी आवतजावतदेखि पारिवारिक तथा लामो दूरीको यात्रालाई लक्षित गरेर तयार गरिएको फुल एसयूभी हो । यसमा पाँच जना सहजै बस्न मिल्ने फराकिलो क्याबिन, २ हजार ७१५ एमएम ह्विलबेस र ५७२ लिटर बुट स्पेस उपलब्ध छ ।

फिचर्सतर्फ भिगो ई२ मा हिटेड र भेन्टिलेटेड सिट, मेमोरी सिट, एक्सटेरियर स्पिकर, ‘हेभन एन्ड अर्थ’ टेलगेट र डीजेआई–सञ्चालित एडास प्रणाली समावेश गरिएको कम्पनीले जनाएको छ ।

पर्फर्मेन्सका हिसाबले यसमा ५१.८७ किलोवाट–आवर क्षमताको ब्याट्री र ९९ किलोवाटको मोटर जडान गरिएको छ । डब्लूएलटीपी मापदण्डअनुसार यसले एक पटकको चार्जमा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । साथै १९० एमएम ग्राउन्ड क्लियरेन्स र १६७ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध छ ।

एमएडब्लू वृद्धि मोटर्सका अनुसार हाल नेपालभर २ हजारभन्दा बढी नामी ब्रान्डका गाडी सञ्चालनमा छन् । भिगोले मनाङ, मुस्ताङ, शुक्लाफाँटा र सल्लेरीजस्ता विभिन्न भूगोलमा आफ्नो क्षमता प्रमाणित गरिसकेको कम्पनीको दाबी छ ।

ग्राहकले एमएडब्लू वृद्धि मोटर्सका शोरुम तथा नाडा अटो शोमा रहेको नामी स्टलबाट भिगो ई२ को टेस्ट ड्राइभ र बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

Share News