काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घराज रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
अछामका रावल वि.सं. २०६२ माघमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका हुन् । हाल उनी बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए ।
राष्ट्र बैंकमा करिब दुई दशक लामो अनुभव हासिल गरेका रावलले बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, सुपरिवेक्षण र व्यवस्थापनका क्षेत्रमा विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
केन्द्रीय बैंकभित्र लामो समयदेखि कार्यरत उनी अब मुलुकको मौद्रिक तथा वित्तीय प्रणालीको महत्त्वपूर्ण जिम्मेवारीमध्ये एक मानिने डेपुटी गभर्नर पदमा नियुक्त भएका हुन् ।
नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघि डेपुटी गभर्नर रहेका नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पाँच वर्षे कार्यकाल पूरा गरेपछि दुवै पद रिक्त भएका थिए ।
सरकारले यसअघि एक डेपुटी गभर्नर पदमा किरण पण्डितलाई नियुक्त गरेको थियो भने अर्को रिक्त पदमा रावललाई नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नरको नियुक्ति नेपाल सरकार, मन्त्रिपरिषद्ले गभर्नरको सिफारिसमा गर्ने व्यवस्था छ । कानुनी प्रावधानअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुने व्यवस्था रहेको छ ।