अब मन्त्रीको कामको हिसाबकिताब, प्रधानमन्त्रीसँग भयो कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता र लक्ष्यअनुसार काम अघि बढाउन मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार (आज) प्रधानमन्त्री शाह र मन्त्रीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

सम्झौतामा चालु आर्थिक वर्षमा मन्त्रालयहरूले गर्ने मुख्य काम, हासिल गर्नुपर्ने उपलब्धि तथा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित लक्ष्यहरू समेटिएका छन् ।

सरकारका कामलाई परिणाममुखी बनाउने उद्देश्यले मन्त्रीहरूको जिम्मेवारी र त्यसबाट हासिल गर्नुपर्ने उपलब्धिलाई कार्यसम्पादन सम्झौतामार्फत स्पष्ट पारिएको जनाइएको छ ।

यस्तै, प्रधानमन्त्री शाहसँग आजै नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सरकारले कार्यसम्पादन सम्झौतामार्फत मन्त्रालय तथा सरकारी निकायका कामको प्रगति र उपलब्धिलाई नियमित रूपमा मूल्याङ्कन गर्ने तयारी गरेको छ ।

Share News