काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूसँग आफ्नो सम्पर्क र सम्बन्ध रहेको भन्दै थुनामा रहेका व्यक्तिका आफन्तलाई मुद्दा मिलाएर छुटाइदिने आश्वासन दिई रकम असुल्ने व्यक्ति पक्राउ परेका छन् ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई हाल ललितपुर बस्दै आएका ५४ वर्षीय जितबहादुर घले पक्राउ परेका हुन् ।
घलेले आफू उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्कमा रहेको भन्दै कारागारमा थुनामा रहेका व्यक्तिका आफन्तजनलाई उनीहरूको मुद्दा मिलाइदिने र थुनामुक्त गराइदिने भन्दै पैसा असुल्ने र दुःख–हैरानी दिने गरेका थिए ।
घलेलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा उनले कसरी र कति व्यक्तिलाई प्रभावित पारेका थिए भन्ने विषयमा समेत थप विवरण खुल्ने प्रहरीले जनाएको छ।