देशभर मनसुन सक्रिय, ५ प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। अहिले देशभर साधारणतया बदली रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, पहाडी भू-भागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा साधारणतया बदली तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

रातिको समयमा पनि हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Share News