पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सार्न आदेश

फाइल तस्बिर ।

काठमाडौं । पाकिस्तानको सुप्रीम कोर्टले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्न आदेश दिएको छ ।

उनलाई आगामी सेप्टेम्बर १६ मा हुने अर्को सुनुवाइसम्म अस्पतालमै राखिनेछ ।

सुप्रीम कोर्टको तीन सदस्यीय इजलासले इमरान खानलाई अस्पताल भर्ना गराउन माग गर्दै दायर गरिएको निवेदनमाथि सुनुवाइ गरेको हो । 

इजलासको अध्यक्षता न्यायाधीश शाहिद वाहिदले गरेका थिए । न्यायाधीश नईम अख्तर अफगान र न्यायाधीश इश्तियाक इब्राहिम इजलासका सदस्य थिए ।

सुप्रीम कोर्टले अदियाला जेलका प्रमुखलाई अदालतको अवहेलनासम्बन्धी सूचना पनि जारी गरेको छ । अदालतले इमरान खानको स्वास्थ्य अवस्थासँग सम्बन्धित सम्पूर्ण मेडिकल रेकर्ड पेस गर्न निर्देशन दिएको छ ।

अदालतले इमरान खानलाई उनका परिवारका सदस्यसँग हरेक साता भेटघाट गर्न दिने व्यवस्था सुनिश्चित गर्न पनि अधिकारीहरूलाई आदेश दिएको छ ।

यसका साथै अदालतले इमरान खानसँग भएका सबै भेटघाटको विस्तृत विवरण तथा उनीविरुद्ध विचाराधीन सबै मुद्दाको पूर्ण जानकारी उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सुप्रीम कोर्टको निर्णयको स्वागत गरेका छन् ।

उनले भने, ‘इमरान खानलाई शिफा इन्टरनेसनल अस्पताल पठाउने आदेश सही छ ।  यो निर्णय पहिले नै भएको भए उनको आँखाको अवस्था र स्वास्थ्य यति खराब हुने थिएन ।’

Share News