वायु सेवा कम्पनीको नाफा घट्ने, विदेशी मुद्रामा असर

काठमाडौं । विदेशीलाई हवाईमा समान भाडा कायम गरेमा मुलुकमा विदेशी मुद्राको आम्दानी कम र मुद्रा सञ्चितिमा असर पर्ने भएको छ ।

विदेशीलाई समान भाडादर तथा हवाई टिकट खरिद वापत प्राप्त हुने विदेशी मुद्राको आम्दानी घट्ने र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष असर पर्ने समान हवाई भाडादर समिति २०८३ ले उल्लेख गरेको छ । 

स्वदेशी र विदेशीलाई समान भाडादर कायम गर्दा वायुसेवा कम्पनीको नाफामा सीमित हुने पनि समितिले उल्लेख गरेको छ । विदेशीलाई समान भाडादर कायम गर्दा नेपाली यात्रुलाई महँगो भाडा तिर्नुपर्ने समितिले औंल्याएको छ । 

वायुसेवा कम्पनीहरूले माग र आपूर्तिको आधारमा सस्तो दरको टिकट पाई रहेको अवस्थामा सो पश्चात् नेपाल सरकारद्वारा स्वीकृत अधिकतम हवाई भाडादरमा मात्र बुकिङ्ग खुल्ला गर्न सक्ने हुँदा स्वदेशी नागरिकहरूले यात्रा गर्दा महँगो हवाई भाडा तिर्नु पर्ने अवस्था आउन सक्ने समितिको प्रतिवेदनले जनाएको छ ।

ट्रंक रुटका विमानस्थलहरुमा यात्रा गर्ने हवाई यात्रुको रोजाई सडक यातायात हुने गरेको छ । हवाइजहाजमा उडान गर्ने स्वदेशी नागरिकको संख्यामा कमी आएको छ ।

विदेशी नागरिकबाट प्राप्त भएको थप विदेशी मुद्राबाट उडानमा हुने संचालन घाटा थप बढ्ने बताइएको छ । समान भाडादर कायम गर्दा वायुसेवा कम्पनीको स्थायित्वमा असर पर्ने सक्ने समितिले उल्लेख गरेको छ ।

आन्तरिक वायुसेवा कम्पनीहरुबाट विदेशी नागरिकहरुलाई नेपाली रुपैयाँमा कारोबार गर्दा वायुसेवा कम्पनीहरुले अन्तर्राष्ट्रिय जगतमा विमान खरिद, ईन्जिन तथा स्पेयर पार्टस्, मर्मतसम्भार सामाग्री उपकरण लगायतका वस्तु विदेशी मुद्रा भुक्तानी गर्नुपर्ने हुँदा यसले विदेशी मुद्रा व्यवस्थापनमा समस्या पर्न सक्ने समितिले दाबी गरेको छ ।

चैत १३ गतेको मन्त्रिपरीषद्को बैठकले स्वीकृत गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरु कार्यान्वयन अन्तर्गत सबै ट्रंक रुटमा उडान गर्ने अन्तरिक वायुसेवा कम्पनीहरुले नेपाली तथा विदेशीलाई हवाई भाडादर समान गर्ने व्यवस्था गर्ने उल्लेख गरिएको थियो । सोही सूची अनुसार विदेशीलाई समान भाडादर कायम गर्न एक अध्ययन समिति बनाएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको दश बुँदे कार्य योजना अन्तर्गत बुँदा नं. ४ मा उल्लेख गरिए बमोजिम सबै ट्रंक रुटहरुका लागि उडान गर्ने अन्तरिक वायुसेवा कम्पनीहरुले नेपाली तथा विदेशी नागरिकहरुलाई हवाई भाडादर समान गर्ने सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधीकरणका महानिर्देशकको निर्णय अनुसार जेठ १९ गते निर्देशकको संयोजकत्वमा  (पाँच) सदस्यीय समान हवाई भाडादर अध्ययन कमिटि गठन भएको थियो ।

समितिमा संयोजक ऋचा शर्मा, सदस्य सुवर्ण भट्टराई,  निजी वायुसेवा कम्पनीका दुई जना प्रतिनिधि,रमेस महत सदस्य सचिव र सीए अनुप उपाध्याय थिए । समितिलाई एक महिनाको समय तोकिएको थियो । 

समितिले हवाई भाडा समान कायम गर्ने विषयमा अध्ययन र हवाई भाडादर समान कायम गर्दा फाइदा तथा बेफाइदाको समेत अध्ययन गरेको थियो ।

Share News