काठमाडौं । काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज (असार २९ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको हो ।
विज्ञप्ति अनुसार आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारी साधन पार्किङ गरी पत्रकारहरूलाई आवतजावत गर्न समस्या सिर्जना गरिएको पाइएको छ ।
तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग जोडदार माग गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।
महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पु¥याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न तथा दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
साथै, उक्त अवरोध हटाउन महासंघले हाल सुरक्षा निकायसँग समन्वय गरिरहेको जानकारी समेत प्रेस विज्ञप्ति मार्फत दिइएको छ ।
