काठमाडौं । राहदानी विभागले राहदानी अतिआवश्यक भएका व्यक्तिहरूलाई मात्र आवेदन दिन आग्रह गरेको छ । विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउँदै सेवा सञ्चालन सुरु गरेपछि अतिआवश्यक सेवाग्राहीलाई मात्र आवेदन दिन अनुरोध गरेको हो ।
नयाँ प्रणालीलाई चाँडै पूर्ण क्षमतामा सञ्चालनमा ल्याएपछि थप सेवाग्राहीले आवेदन दिन सक्ने विभागले जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको नेपालको सूचना प्रविधि इतिहासकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ समेत सम्पन्न गरेको छ ।
यस प्रक्रिया अन्तर्गत करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी व्यक्तिगत विवरणहरू सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको विभागले जनाएको छ ।
यो वृहत् प्रणाली कार्यान्वयनसँगै राहदानी सेवा थप आधुनिक र व्यवस्थित हुने विभागले उल्लेख गरेको छ ।
नयाँ प्रणाली ‘गो लाइभ’ भएपछि सुरुवाती दिनहरूमा केही प्राविधिक चुनौतीहरू देखिनु स्वाभाविक रहेको विभागको भनाइ छ ।
प्रणालीमा केही सुस्तता र राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विभागले पूर्वतयारी स्वरूप प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको छ ।
विभागका अनुसार प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ र विभागको प्राविधिक टोली चौबीसै घण्टा प्रणालीको अनुगमन, परीक्षण र सुधारमा खटिएका छन् ।
सुरुवातीमा देखिएका समस्याहरूको शीघ्र र दीर्घकालीन समाधानका लागि विभाग पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ प्रणालीलाई स्थिर र थप प्रभावकारी बनाउन सहयोग पुर्याउन विभागले सेवाग्राहीहरूमा विशेष अनुरोध गरेको छ ।
साथै, राहदानी सेवासम्बन्धी कुनै पनि भ्रममा नपर्न र विभाग वा मन्त्रालयको आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र आधार मान्न सम्पूर्ण सेवाग्राहीहरूलाई सूचित गरिएको छ । विभागले नेपाली नागरिकहरूलाई छिटो, छरितो र विश्वसनीय सेवा प्रदान गर्न विभाग सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।