गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति

पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन हुने

काठमाडौं । सरकार र गणेश नेपालीको परिवारबीच नौ बुँदे सहमति भएको छ । 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा काठमाडौं महानगरपालिका र पीडित पक्षबीच भएको वार्तापश्चात नौ बुँदे सहमति भएको हो । 

गत बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेका २५ वर्षीय नेपालीको शनिबार मृत्यु भएको थियो ।

सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने भएको छ ।उक्त समितिले गठन भएको मितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउनेछ ।

साथै गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमतिसमेत भएको छ ।

घटना भएको दिन घटनास्थलमा खटिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरी छानबिन समितिको प्रतिवेदन र सिफारिसअनुसार थप कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने सहमति पनि भएको छ ।

सहमतिअनुसार काठमाडौं महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्नेछ भने मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको व्यवस्था गर्नेछ । यसका लागि सम्बन्धित सरकारी निकायहरूले आवश्यक समन्वय गर्ने उल्लेख गरिएको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट मृतकका आश्रित परिवारलाई राहतस्वरूप उपयुक्त आर्थिक सहयोग उपलब्ध गराइनेछ । मृतकको अन्त्येष्टि तथा काठमाडौंमा गरिने सम्पूर्ण काजकिरियाको व्यवस्थापन पनि महानगरपालिकाले गर्नेछ ।

 

nullnull

Share News