महालक्ष्मी विकास बैंकको कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ सेवालाई थप आधुनिक र ग्राहकमैत्री बनाउने उद्देश्यका साथ काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

बैंकले शुक्रबार आयोजित एक कार्यक्रमबीच काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित डिजिटल हबको औपचारिक उद्घाटन गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले डिजिटल हबसहितको कार्यालय भवनको संयुक्त उद्घाटन गरेका थिए। कार्यक्रममा सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका पदाधिकारी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई सुरक्षित, प्रविधिमैत्री र अझ प्रभावकारी बनाउने रणनीतिअनुसार डिजिटल हबमा कफी लाउञ्जको सुविधा समेत थप गरिएको हो । यसमार्फत ग्राहकहरूले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, नगद झिक्ने, चेक क्लियरिङ गर्ने तथा विभिन्न विद्युतीय बैंकिङ सेवा प्रयोग गर्न सक्नेछन् ।

बैंकले नेपालको बैंकिङ क्षेत्रमा कफी लाउञ्जसहितको यस्तो अवधारणा सम्भवतः पहिलो पटक कार्यान्वयन गरिएको दाबी गरेको छ । यसले बैंकिङ सेवालाई सहज र फरक अनुभव प्रदान गर्ने विश्वास बैंकको छ ।

युवापुस्तालाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्ने तथा ग्राहकबीच डिजिटल सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको डिजिटल हबमार्फत डिजिटल बैंकिङसम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइने बैंकले जनाएको छ । यसले ग्राहकका लागि सिकाइ र अनुभवको केन्द्रका रूपमा समेत काम गर्ने अपेक्षा गरिएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको रेगुलेटरी स्यान्डबक्स अवधारणालाई समेत आत्मसात गर्दै भविष्यमा वित्तीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र ग्राहकलाई नवीन वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

Share News