बिरामीलाई औषधि मिलाएर कमिसन लिने १० विचौलिया पक्राउ

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १० जना विचौलिया पक्राउ परेका छन् । 

प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिसनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्र बहादुर खड्काले मंगलबार विशेष सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिए ।

प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले त्यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरेको थेबेले बताए ।

सप्तरीका अग्निसाइर कृष्णासवरन गाउँपालिका–३ का ३७ रञ्जितकुमार चौधरी, सप्तरीको राजविराज नगरपालिका–६ का रविना मण्डल, भोजपुरका हस्त श्रेष्ठ, सुनसरीको धरान उपमहानगरपालिका–१५ का सागर पोखरेल, मोरङको लेटाङ नगरपालिका–३ का साबिन किराँती, धरान उपमहानगरपालिका–६ का  मनिष बुढाथोकी, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का  उमेशकुमार चौधरी, धरान उपमहानगरपालिका–१७ का धिरोज निरौला, सुनसरीको इनरुवा नगरपालिका–२ का रोहित मेहता र धरान उपमहानगरपालिका–११ का विनोद भट्टराई रहेका छन् ।

Share News