पास दुरुपयोगले प्रधानमन्त्री कार्यालयलाई हैरानी

दुरुपयोग बढेपछि नियम नै परिवर्तन

काठमाडौं । मुलुकको ठूलो प्रशासनिक कार्यालय सिंहदरबार तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रवेश गर्ने ‘प्रवेश पास’को दुरुपयोग हुने गरेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयकै प्रवेश पास दुरुपयोग गरेर सर्वसाधारण सिंहदरबार जाने गरेको खुलेको हो । 

सर्वसाधारणले प्रधानमन्त्री कार्यालय जाने भन्दै पास माग्ने तर पुनः फिर्ता नगर्ने गरेको पाइएको हो । प्रधानमन्त्री कार्यालयबाट नाम टिपाएर प्रवेश पास लैजाने तर फिर्ता नगर्दा प्रवेश पास वितरण गर्ने कर्मचारी हैरान भएको बताउँछन् ।

‘प्रवेश पास वितरण गरेर लग्यो तर फिर्ता नगर्दा प्रवेश पासको समस्या अभाव हुँदै गइरहेको छ,’ पास वितरक एक महिला प्रहरीले भनिन् । 

‘प्रधानमन्त्री कार्यालयबाट नाम आएको छ भन्दै सर्वसाधारण आउँछन् । प्रवेश पास दियो तर फिर्ता दिँदैनन् । टिपाएको नाम र नम्बर फोन गर्दा सम्बन्धित मान्छे होइनन् भन्छन् तथा गलत नम्बर पर्यो भनेर राखिदिन्छन्,’ ती महिला प्रहरी कर्मचारीले विकासन्युजलाई भनिन्,’ प्रवेश पास भएपछि गेटका सुरक्षाकर्मीले चेकजाँच पनि गर्दैनन् । सुटुक्क प्रवेश गर्छन् विभिन्न मन्त्रालय तथा कार्यालय प्रवेश गरेर भीडभाड गर्ने गर्छन् ।’

सर्वसाधारणले निर्वाचन आयोग तथा अन्य सामान्य परिचय खुल्ने कार्ड देखाएर प्रधानमन्त्री कार्यालय जान प्रवेश पास लैजाने गरेका छन् । नागरिकता र लाइसेन्स नभएकाले सर्वसाधारण त्यस्ता कार्ड लिनका पुनः यहाँ नआउने गरेको ती कर्मचारीले जानकारी दिइन् ।

नागरिकता र लाइसेन्स भए अनिवार्य कार्ड बुझाउन आउने गरेको उनले बताइन् । ‘अहिले भने हामीले सिंहदरबार प्रवेश वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रवेशमा अनिवार्य नागरिकता तथा लाइसेन्सको माग गर्न थालेका छौं,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्यालय प्रवेश गर्न भने अन्य मन्त्रालयभन्दा फरक पास रहने गरेको छ । प्रधानमन्त्री कार्यालयका लागि छुट्टै कार्डको व्यवस्था गरिएको छ । हाल सर्वसाधारणले नागरिक एप प्रयोगकर्ताले अब आफूले भेट्न चाहेको कार्यालय, मिति र समय उल्लेख गरी सिधै एपबाटै प्रवेश अनुमतिका लागि आवेदन दिन सक्छन् । आवेदन स्वीकृत भएपछि एपभित्रै क्युआर कोड जेनरेट हुन्छ ।

सिंहदरबारको गेटमा उक्त क्यूआर कोड स्क्यान गरेर सहज रूपमा प्रवेश पाउन सकिन्छ । यसअघि सिंहदरबार प्रवेशका लागि गृह मन्त्रालयले सुरु गरेको ई–गेट पास प्रणाली छुट्टै पोर्टलमार्फत सञ्चालनमा थियो । तर, हाल यो सेवालाई नागरिक एपसँग जोडेर थप प्रयोगकर्तामैत्री बनाइएको हो । यसले सेवाग्राहीलाई एउटै प्लेटफर्ममार्फत धेरै सरकारी सेवा लिन सक्ने सुविधा प्रदान गर्दछ ।

Share News