राहदानी सेवा ३ दिन बन्द, असार २९ देखि नयाँ प्रणाली लागू

काठमाडौं । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालनको तयारी पूरा गरेको भन्दै प्रणाली रूपान्तरणका क्रममा केही दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले जारी गरेको सूचनाअनुसार हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला÷इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग तथा विभागबाट प्रदान गरिने राहदानी सेवा निश्चित अवधिका लागि अवरुद्ध हुनेछ ।

विभागका अनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा असार २४ गतेदेखि २६ गतेसम्म तीन दिन बन्द रहनेछ । त्यसैगरी राहदानी विभागबाट प्रदान गरिने सेवा असार २५ गते र असार २६ गते दुई दिनका लागि बन्द हुने जनाइएको छ ।

राहदानी विभागले असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालनमा ल्याइने जनाएको छ । विभागका अनुसार नयाँ प्रणालीमा रूपान्तरणका लागि आवश्यक प्राविधिक तयारी पूरा भइसकेको छ ।

यसअघि विभागले गत फागुन २८ गते नै सेवाग्राहीका नाममा सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा केही दिन सेवा प्रभावित हुन सक्ने जानकारी गराएको थियो ।

null

Share News