काठमाडौं । सप्तरीको राजविराजस्थित कारागारमा ड्युटी रहेका एक प्रहरी जवान गोली लागेर घाइते भएका छन् । सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा अर्का सहकर्मी घाइते भएका हुन् ।
बुधबार मध्य राति कारागारमा सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको घटनामा २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव घाइते भएका कारागार प्रशासन प्रमुख रुपक मण्डलले जानकारी दिए ।
ड्युटीमा रहेका प्रहरी जवान अजय कुमार मेहताले बोकेको एसएलआरबाट एक्कासि गोली चलेको थियो। गोली यादवको कम्मरमाथिको ढाडमा लागेको थियो ।
भित्तामा फर्केर आएको गोली लागेको उनको भनाइ छ । हाल उनलाई धरानस्थित वीपी प्रतिष्ठानस्थित घोपा क्याम्प उपचार भइरहेको छ ।
घटनापछि गोली चलेको एसएलआर बोकेका प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ। घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।