नगरसभाले पारित गर्‍यो ललितपुर महानगरको बजेट

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २०८३ असार १० गते नगरसभा प्रस्तुत गरेको कुल ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँको बजेट पारित भएको छ । विस्तृत छलफल र विचार विमर्शपछि २०८३ असार १७ गतेको नगरसभाले बजेट पारित भएको हो । 

महानगरपालिकाको नवौँ नगर सभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्य नगरसभामा बजेट प्रस्तुत गरेकी थिइन् । नगरप्रमुख चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८३/८४ को बजेटले हरियाली प्रबर्धन, वातावरण संरक्षण, सम्पदा संरक्षणसँगसँगै शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ती मध्येको साउन १ गतेदेखि शुरु हुने चिकित्सक सहितको एम्बुलेन्स,बिरामी नगरवासीको घर घरमा नयाँ कार्यक्रम हो । ’ स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर शुरु गरिने यो नौलो र प्रभावकारी कार्यक्रम भएको उनले बताए ।

यस कार्यक्रम अनुसार बिरामी नगरवासीको उपचारको लागि चिकित्सक सहितएम्बुलेन्स घर घरमा पुग्छ । नगर प्रमुख महर्जनले वातावरणको क्षयिकरणको कारण धेरै क्षेत्रले असर बेहोरिरहेको बताउँदै हरियाली प्रबर्धनलाई प्राथमिकतामा राखेको बताए । ललितपुर महानगरले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप, पाठेघरमा क्यान्सर लागे नलागेको परीक्षण र लागेको भए उपचार, घर घरमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षणको व्यवस्थालाई अघिल्ला  वर्षहरुमा कार्यान्वयनमा ल्याएको छ । 

सीमित स्रोत र साधनका बिच नगरवासीको बढ्दो अपेक्षा र बहुआयामिक आवश्यकतालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले बताइन् । 

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरेको कुल बजेटमध्ये पुँजीगत खर्चतर्फ ५६.६ प्रतिशत र चालु खर्चतर्फ ४३.४ प्रतिशत रकम विनियोजन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलाई शुसासन, पारदर्शिता र सेवा प्रवाह बजेटको प्राथमिकताको क्षेत्र रहेको बताइन् । 
 

Share News