विश्व वातावरण दिवस मनाइयो, जलवायु र प्रकृतिमैत्री विकासमा जोड

काठमाडौं । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमका साथ मनाइएको छ । यस वर्ष नेपालमा समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास भन्ने मूल नारासहित दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने कार्यक्रम तय गरिएको वातावरण विभागले जनाएको छ । 

दिवसको अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा दिगो विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष समारोह आयोजना गरेको छ । कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले वातावरण र मानव जिवनको अनन्य सम्वन्ध रहेको वताएको विभागले जनाएको छ । उक्त अवसरमा मन्त्री चौधरीले जलवायु र प्रकृतिमैत्री विकासमा जोड दिएकी थिइन् ।

समारोहमा विभिन्न सरकारी निकायका प्रतिनिधि, विकास साझेदार संस्था, वातावरणविद् तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो । वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा प्रकृतिमैत्री विकास प्रवद्र्धनका विषयमा नागरिकस्तरमा सचेतना विस्तार गर्न दिवसलाई विशेष महत्वका साथ मनाइएको बताए ।

विभागका अनुसार विश्व वातावरण दिवसको अवसरमा देशका विभिन्न स्थानमा वृक्षारोपण, सरसफाइ, अन्तरक्रिया, जनचेतनामूलक अभियान तथा वातावरण संरक्षणसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिएको छ । विश्वव्यापी रूपमा प्रत्येक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवस मनाइन्छ । 

Share News