भारतमा नेपालका प्रधानमन्त्रीलाई नगरिएको स्वागत रविलाई

पुष्प वृष्टी र पञ्चेबाजासहित सम्मान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणका क्रममा मंगलबार भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेका छन् । भारतको सत्ताधारी दल भाजपाको कार्यालयमा मंगलबार उनको भव्य स्वागत गरिएको छ । 

भाजपाको निमन्त्रणामा पाँचदिने भ्रमणमा रहेका लामिछानेलाई दिल्लीस्थित भाजपा मुख्यालयमा विशेष स्वागत गरिएको हो । सोमबार दिल्ली पुगेका लामिछानेले मंगलबार भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता सुरु गरेका छन् । 

भेटअघि भाजपा कार्यालय परिसरमा पञ्चेबाजा, पुष्प वर्षा  तथा सांस्कृतिक झाँकीसहित उनको स्वागत गरिएको छ । स्वागत कार्यक्रममा भारतीय तथा नेपाली समुदायका उल्लेख्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । 

भारत प्रस्थानअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूले प्रतिक्रिया माग्दा लामिछानेले भ्रमणपछि विस्तृत रूपमा बोल्ने बताएका थिए । भ्रमणका क्रममा उनले भाजपा नेतृत्वसँगै भारतीय सरकारका उच्च पदाधिकारीहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार लामिछाने र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच पनि भेटवार्ताको तयारी गरिएको छ । उक्त भेट भाजपा कार्यालयमै हुन सक्ने जनाइएको छ । त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट बुधबारका लागि तय भएको भए पनि समय भने अन्तिम रूपमा टुंगिएको छैन ।

भारतीय सञ्चारमाध्यम ‘आजतक’ले प्रधानमन्त्री मोदीको उपलब्ध समयअनुसार भेटघाट हुने भएकाले त्यस दिन नेपाली प्रतिनिधिमण्डलका अन्य औपचारिक कार्यक्रम नराखिएको जनाएको छ ।

राजनीतिक वृत्तमा लामिछानेको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । विगतमा नेपालका प्रधानमन्त्रीलाई नगरिएको स्वागत र सम्मान सभापति लामिछानेलाई गरिएको छ । 

तत्काली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा उनलाई विमानस्थलमा स्वागत गर्न भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवा पुगेका थिए । यसपटक भने भाजपा नेतृत्वका उच्च तहका पदाधिकारीहरू नै स्वागतमा सक्रिय देखिनुले भ्रमणलाई विशेष महत्व दिइएको संकेत मानिएको छ । यस पटक लामिछानेलाई स्वागत गर्न भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंह आइपुगेका थिए । 

nullसभापति रवि लामिछानेसँग भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंह । 

भारतले रविलाई विगतका प्रधानमन्त्री भन्दा बढी प्राथमिकता दिएको स्वागतबाट बुझ्न सकिन्छ । नेपालमा रास्वपाको बढ्दो राजनीतिक प्रभाव तथा नयाँ परिस्थितिका कारण भारतीय पक्षले फरक ढंगले वर्तमान नेपाल सरकारलाई हेरिरहेको विश्लेषण कुटनीतिका जानकारहरु बताउँछन् । 

लामिछानेको भ्रमणलाई सामान्य राजनीतिक भेटघाटभन्दा बढी महत्वको रूपमा हेरिएको छ । भारतले नेपालका प्रमुख राजनीतिक शक्तिहरूसँग सम्बन्ध विस्तार गर्ने आफ्नो परम्परागत नीति अनुरूप रास्वपासँग पनि निकट संवाद बढाउन खोजेको हुन सक्ने टिप्पणी कुटनीतिक जानकारहरुके छ ।

सभापति लामिछानेले मंगलबार भारतको हिन्दुस्थान टाइम्समा एउटा लेखमार्फत नेपाल र भारतको सम्बन्ध नयाँ ढंगबाट अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । उनले दुई देशबीचको सम्बन्धलाई परम्परागत राजनीतिक र भू राजनीतिक बहसभन्दा माथि उठाएर विकास, व्यापार, लगानी र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने उल्लेख गरेका छन् ।

लामिछानेले नेपालमा पछिल्ला वर्षहरूमा भएको राजनीतिक परिवर्तनलाई ‘मतपेटिका क्रान्ति’ को संज्ञा दिँदै लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ पुस्ताको नेतृत्व स्थापित भएको उल्लेख गरेका छन् । उनले रास्वपाले प्राप्त गरेको जनादेश परिवर्तनको पक्षमा जनताको स्पष्ट सन्देश भएको दाबी गरेका छन् ।

nullसभापति लामिछाने र भाजपाका अध्यक्ष नितिन नविन । तस्बिर : एएनआई 

लेखमा उनले नेपाल र भारतबीच रेल, हवाई सेवा, ऊर्जा, सूचना प्रविधि, पर्यटन र शिक्षाजस्ता क्षेत्रमा व्यापक सहकार्यको सम्भावना औंल्याएका छन् । प्रस्तावित रक्सौल र काठमाडौं रेलमार्ग निर्माणले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक गतिविधिमा ऐतिहासिक परिवर्तन ल्याउने उनको भनाइ छ ।

लामिछानेले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेङ्गलुरुसम्म प्रत्यक्ष उडान सञ्चालन गर्नुपर्ने, काठमाडौं र बेङ्गलुरु डिजिटल करिडोर निर्माण गर्नुपर्ने तथा नेपालमा आईआईटी जस्ता प्रतिष्ठित भारतीय शैक्षिक संस्थाहरू विस्तार गर्नुपर्ने सुझाव दिएका छन् । 

उनले नेपालको जलविद्युत् सम्भावना भारतको ऊर्जा सुरक्षासँग जोडिएको बताएका छन् । सीमापार व्यापार सहज बनाउन आधुनिक पूर्वाधार, डिजिटाइज्ड एकीकृत जाँच चौकी र उन्नत पारवहन प्रणालीको आवश्यकता रहेको उनको धारणा छ ।

nullभाजपा कार्यालयमा रवि लामिछाने । 

लामिछानेले नेपाल र भारतबीच रहेका विवादहरूलाई ऐतिहासिक तथ्य, प्रमाण र संवादका आधारमा समाधान गर्नुपर्ने उल्लेख गरेका छन् । उनले अतिराष्ट्रवादी भाषणभन्दा व्यावहारिक संवाद र पारस्परिक विश्वासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

Share News