काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण सुरु गरेका छन् । उनले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट भाषण सुरु गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाईको जनमत प्राप्त गरेपछि बनेको सरकारको यो पहिलो बजेट हो । यो बजेटलाई धेरै चासोका साथ हेरिएको छ ।
सर्वसाधारणदेखि विज्ञहरुले यस बजेटलाई ठूलो निकै महत्व दिएका छन् । अर्थमन्त्री डा. वाग्ले अर्थविद् भएकोले पनि यो बजेटलाई धेरैले महत्वका साथ हेरेका छन् ।
बजेट भाषणमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि सहभागी भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा बिचमै उठेर हिँडेपछि संसद बैठकमा सहभागी नभएका बालेन आज सहभागी भएका हुन् ।
सरकारले सुशासन, आर्थिक सुधार र सार्वजनिक खर्चको प्रभावकारितालाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताएको छ ।
अर्थतन्त्रमा देखिएको सुस्तता, घट्दो राजस्व संकलन, बढ्दो सार्वजनिक ऋण र विकास खर्चको कमजोर कार्यान्वयनजस्ता चुनौतीबीच आउने बजेटले निजी क्षेत्र, रोजगारी, उत्पादन वृद्धि र पूर्वाधार निर्माणलाई कसरी सम्बोधन गर्छ भन्ने विषयलाई प्राथमिकताका साथ हेरिएको छ ।