काठमाडौं । देशभर सवारीसाधनको संख्या र सवारी चालक अनुमतिपत्र वितरणमा उल्लेख्य वृद्धि भएको छ ।
सरकारले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्ममा मात्रै बस, मिनीबस, ट्रक, माइक्रोबस, कार र मोटरसाइकलसहित विभिन्न विधाका २ लाख ८१ हजार ९ सय २१ वटा नयाँ सवारीसाधन दर्ता भएका छन् ।
योसँगै चालु आव २०८२/८३ फागुनसम्ममा मुलुकभर दर्ता भएका कुल सवारी साधनको संख्या ६२ लाख ४९ हजार ७ सय ३२ पुगेको छ । कुल दर्ता भएका सवारी साधनमध्ये ५० लाखभन्दा बढी संख्या त मोटरसाइकलको मात्रै रहेको तथ्याङ्कले देखाउँछ ।
सवारी साधनको वृद्धिसँगै चालक अनुमतिपत्र वितरणको कार्य पनि अघि बढिरहेको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा मात्रै थप ४३ हजार ७ सय ५० थान स्मार्ट कार्ड (सवारी चालक अनुमतिपत्र) वितरण गरिएको छ । यससँगै २०८२ फागुनसम्ममा देशभर वितरण गरिएको कुल स्मार्ट लाइसेन्सको संख्या ४१ लाख १४ हजार १ सय ८१ थान पुगेको छ ।
अर्कोतर्फ सवारीसाधनलाई आधुनिक प्रविधिमा ढाल्न प्रयोग गरिने इम्बोस्ड नम्बर प्लेट उत्पादन र जडानको कार्य पनि जारी रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ५ हजार १ सय ८६ थान जडान भइसकेको छ ।
तथ्याङ्कअनुसार २०८२ फागुनसम्म कुल ८ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भइसकेको भए तापनि हालसम्म ८८ हजार ३ सय ४० थान मात्र जडान भएको देखिन्छ ।
इम्बोस्ड सवारी नम्बर प्लेट जडान प्रक्रियालाई अझ सरल, व्यवस्थित र प्रभावकारी बनाउनका लागि ‘इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०८१’ स्वीकृत भई हाल कार्यान्वयनमा रहेको छ ।