गुल्मीमा हावाहुरीको वितण्डा, ८२ भन्दा बढी घरगोठ र संरचनामा क्षति

काठमाडौं । गुल्मी जिल्लाका विभिन्न स्थानीय तहमा आएको हावाहुरीका कारण ८२ भन्दा बढी घर, गोठ तथा अन्य संरचनामा क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार मानवीय तथा पशुचौपाया क्षति भने नभएको जनाइएको छ ।

जिप्रका गुल्मीका कामु सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत कुमार केसीले सबैभन्दा बढी क्षति मालिका गाउँपालिकामा भएको जानकारी दिए । उनका अनुसार त्यहाँमात्रै ६६ वटा घरगोठ तथा संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छ ।

यस्तै, मदाने गाउँपालिकामा ९, मुसिकोट नगरपालिका मा ३, छत्रकोट गाउँपालिकामा १ र इस्मा गाउँपालिकामा ३ वटा संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हावाहुरीका कारण पाँचवटा विद्यालय तथा शैक्षिक संस्था पनि प्रभावित भएका छन् । प्रभावित विद्यालयमध्ये मालिका गाउँपालिकामा ३ वटा, छत्रकोट गाउँपालिकामा १ वटा र इस्मा गाउँपालिकामा १ वटा विद्यालयमा क्षति पुगेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रको थप विवरण संकलन तथा क्षतिको मूल्यांकन गरिरहेको जनाएका छन् । प्रभावित घरपरिवारलाई आवश्यक सहयोग तथा राहत व्यवस्थापनका लागि स्थानीय तह सक्रिय रहेको प्रशासनको भनाइ छ ।

Share News