काठमाडौं । युरोपेली संघ (ईयू) ले नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्व, सुधार एजेन्डा र विकासप्रतिको दृष्टिकोणलाई लिएर उच्च प्रशंसा गरेको छ ।
नेपालका लागि ईयू राजदूत भेरोनिक लोरेन्जोले प्रधानमन्त्री शाहसँगको भेट निकै सकारात्मक र आशावादी रहेको बताउँदै नेपालमा ठूलो र प्रभावकारी परिवर्तन गर्ने दृढ संकल्प वर्तमान नेतृत्वमा देखिएको उल्लेख गरेकी छन् ।
‘हामीले प्रधानमन्त्री बालेन शाहमा नेपालका लागि केही ठूलो, प्रभावकारी र दीर्घकालीन परिवर्तन गर्ने बलियो सुधार सोच देख्यौं,’ राजदूत लोरेन्जोले भनिन्, ‘उहाँसँग विकासका स्पष्ट एजेन्डा, कार्ययोजना, निश्चित समयरेखा र परिणाममुखी सोच रहेको हामीले महसुस गरेका छौं ।’
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौं तथा नयाँदिल्लीस्थित युरोपेली संघ (ईयू) र सदस्य राष्ट्रका राजदूतसहित युरोपेली मुलुकका उच्चस्तरीय कूटनीतिक प्रतिनिधिमण्डलले प्रधानमन्त्री शाहसँग संयुक्त भेटवार्ता गरेको थियो ।

भेटपछि आयोजित पत्रकार सम्मेलनमा राजदूत लोरेन्जोले नेपाल अहिले अवसरको चरणमा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले नेपालसँग थप सक्रिय सहकार्य गर्नुपर्नेमा जोड दिइन् ।
भेटका क्रममा प्रधानमन्त्री शाहले आफू नेपाली जनताको उच्च अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताएका थिए, जसबाट ईयू प्रतिनिधिमण्डल निकै प्रभावित भएको हो ।
प्रधानमन्त्री शाहले राष्ट्र निर्माण र नेपालको विकासमा युवापुस्ताको भूमिका निर्णायक रहने उल्लेख गर्दै युवाहरूबाट अझ धेरै अपेक्षा राखिएको धारणा राखेका थिए ।
नेपाल र युरोपेली संघबीचको ५२ वर्ष लामो ऐतिहासिक साझेदारी, विकास सहकार्य, शिक्षा, संस्कृति, पर्यटन, लगानी र सुशासनका विषयमा भेटमा विस्तृत छलफल भएको थियो । राजदूत लोरेन्जोका अनुसार नेपालमा हालै भएको जेनजी आन्दोलन र त्यसपछिको निर्वाचनबाट नयाँ सरकार गठन भएपछि नेपालप्रति युरोपेली समुदायको दृष्टिकोण थप सकारात्मक बनेको छ ।
अहिले नेपालमा लगानीका लागि अनुकूल वातावरण निर्माण भएको सन्देश दिँदै उनले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारसँग अझ बढी संलग्न हुन आग्रहसमेत गरिन् ।

ईयू तथा सदस्य राष्ट्रका उच्चस्तरीय राजदूतहरू ।
राजदूत लोरेन्जोले पछिल्ला वर्षहरूमा नेपालमा सरकारी संस्थाभन्दा युरोपेली निजी क्षेत्रको व्यावसायिक चासो र लगानी उल्लेखनीय रूपमा बढेको खुलाइन् ।
प्रधानमन्त्रीसँगको भेटअघि ईयू प्रतिनिधिमण्डलले नेपालका निजी क्षेत्र, नागरिक समाज र पत्रकारहरूसँग पनि छलफल गरेको थियो । विशेषगरी नेपालको बैंकिङ, पर्यटन र ऊर्जा क्षेत्रका प्रतिनिधिहरू नयाँ सरकारप्रति निकै आशावादी देखिएको उनले जानकारी दिइन् ।
ईयू प्रतिनिधिमण्डलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र परराष्ट्रमन्त्री शिषिर खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेको थियो । ईयूले आगामी दिनमा नेपालको शिक्षा, संस्कृति, पर्यटन र जनशक्ति विकासमा अझ बढी केन्द्रित भएर प्रभावकारी काम गर्ने इच्छा व्यक्त गरेको छ ।
नेपाली विद्यार्थी र कामदारहरूले युरोपेली मुलुकमा उत्कृष्ट प्रदर्शन गरिरहेको भन्दै राजदूत लोरेन्जोले युरोपतर्फ नेपालीहरूको माइग्रेसन असाधारण रूपमा बढेको बताइन्।
यसैबीच, कूटनीतिक क्षेत्रका लागि अर्को सकारात्मक खबर सार्वजनिक गर्दै उनले भनिन्, ‘२०१५ को भूकम्पपछि नेपालमा आफ्नो उपस्थिति बन्द गरेका केही ईयू देशहरू पुनः नेपाल फर्कने र दूतावास खोल्ने तयारीमा छन् ।’
नेपाली वायुसेवा कम्पनीहरूलाई ईयूको हवाई सुरक्षा सूचीबाट हटाउने विषयमा पनि प्रतिनिधिमण्डलले सकारात्मक संकेत दिएको छ ।
ईयूले नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक मुकेश डंगोलले यस विषयलाई प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरेको छ ।
उड्डयन सुरक्षा र नियामकीय सुधारमा प्रगति भएमा नेपाल चाँडै सुरक्षा सूचीबाट हट्ने संकेत पनि ईयूले गरेको छ ।
‘नेपालको विदेश नीति सन्तुलित र व्यावहारिक हुन्छ’