काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि प्रकारको बाह्य हस्तक्षेप स्वीकार नगरिने दृढता व्यक्त गरेका छन् । मंगलबार सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेलगत्तै आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले न्यायपालिकाको संस्थागत स्वतन्त्रता र न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता अक्षुण्ण राख्न आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारे ।
प्रधानन्यायाधीशको जिम्मेवारीलाई केवल एउटा ओहोदाको रूपमा मात्र नभएर संविधान, विधिको शासन, न्यायिक स्वतन्त्रता तथा नागरिकको न्यायप्रतिको भरोसालाई अझ सुदृढ बनाउने गम्भीर दायित्वका रूपमा आफूले ग्रहण गरेको उनको भनाइ थियो ।
‘न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ हो,’ शर्माले भने, ‘त्यसैले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै मेरो कार्यकालको मूल ध्येय रहनेछ ।’
प्रधानन्यायाधीश शर्माले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायालयको निर्माण नै आफ्नो कार्यकालको मूल ध्येय रहने घोषणा गरे ।
न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षता नै लोकतन्त्रको वास्तविक मेरुदण्ड भएको चर्चा गर्दै उनले आफ्नो पहिलो र सर्वोच्च प्राथमिकता स्वतन्त्र न्यायपालिकाको साख जोगाउनु रहेको र यस मान्यतासँग कुनै पनि परिस्थितिमा सम्झौता नगरिने अडान दोहोर्याए ।
न्यायालयको स्वच्छताप्रति सबैलाई आश्वस्त पार्दै उनले आफ्नो कार्यकालमा कसैले कुनै शंका राख्नुपर्ने अवस्था नआउने र त्यस्तो शंका उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने र हुन समेत नदिने दृढ विश्वास दिलाए ।