काठमाडौं । चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले नेपालमा आयोडिनको कमीका कारण जनस्वास्थ्य समस्या बढ्ने जोखिम रहेको भन्दै तत्काल आयोडिनविहीन नुन बिक्री-वितरणमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् ।
उनीहरूले नेपाल-भारत खुला सीमाका कारण झापालगायतका व्यापारिक सुपरमार्केट तथा खाद्यान्न पसलमा आयोडिनविहीन भारतीय नुन खुलेआम बिक्री भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता नुन बजार अनुगमन गरेर जफत गर्न तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।
अर्कोतर्फ सरकारले नुनको बिक्री-वितरणमा निजी क्षेत्रलाई प्रवेश दिएपछि मापदण्डअनुसार आयोडिनको मात्रा नभएको नुन बिक्री भइरहेको र यसले भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने जोखिम बढेको उनीहरूको तर्क छ ।
बालरोग विशेषज्ञ डा. टङ्क बह्राराकोटीले आयोडिनविहीन नुनको प्रयोग बढेमा विशेषगरी बालबालिका तथा गर्भवतीको स्वास्थ्य जोखिममा पर्न सक्ने औंल्याएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा सोमबार आयोजित ‘बजारमा उपलब्ध नुनको गुणस्तर र यसको उपभोगबाट हुनसक्ने स्वास्थ्यसम्बन्धी’ कार्यक्रममा उनले तत्काल आयोडिनविहीन नुन बिक्री-वितरण रोक्नुपर्ने बताए।
उनले श्रीलङ्काले हाल आयोडिनविहीन नुनका कारण जनस्वास्थ्य समस्या भोगिरहेको उदाहरण दिँदै नेपालमा पनि त्यस्तो अवस्था आउन नदिनुपर्ने बताए ।
सरकारले २०८२ साल साउन १ गतेदेखि निजी क्षेत्रलाई आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री-वितरण गर्न बाटो खुलाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंमा गत वैशाख ४ गते ‘हिमालयन पिङ्क रक साल्ट’को गुणस्तर परीक्षण गर्दा आयोडिनको मात्रा नभेटिएको रिपोर्ट सार्वजनिक गरेको जनाइएको छ ।
बजारमा ‘ब्ल्याक साल्ट’ नामका भारतीय गुणस्तरहीन तथा मापदण्ड विपरीतका नुन पनि खुलेआम बिक्री भइरहेको उल्लेख गरिएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपाल सरकारले २०५७ साल माघ २३ गतेदेखि लागू गरेको व्यवस्था अनुसार आयोडिनयुक्त नुनमा उत्पादन तहमा ५० पीपीएम, बिक्री तहमा ३० पीपीएम र उपभोक्ता स्तरमा १५ पीपीएम अनिवार्य हुनुपर्ने व्यवस्था छ ।
चिकित्सकका अनुसार आयोडिनयुक्त नुनमा जलांश अधिकतम ६ प्रतिशत, सोडियम क्लोराइड न्यूनतम ९६ प्रतिशत र पानीमा नघुल्ने पदार्थ अधिकतम १ प्रतिशत हुनुपर्छ। यदि ९६ प्रतिशत सोडियम क्लोराइड नभएको अवस्थामा रक्तचापसम्बन्धी समस्या हुने चिकित्सकहरूको भनाइ छ।
साधारण नुनका हकमा पनि जलांश, सोडियम क्लोराइड र अन्य घुलनशील पदार्थको सीमा सरकारले निर्धारण गरेको छ ।
तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वअतिरिक्त सचिवसमेत रहेका डा. बह्राराकोटीका अनुसार आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सूक्ष्म पोषक तत्व हो । नुनले थाइरोइड ग्रन्थीबाट थाइरोइड हर्मोनहरू उत्पादन गर्न मद्दत गर्छ, जसले शरीरका कोशिकाहरूको कार्य, दिमागको वृद्धि र विकास तथा शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।
उनले बालबालिका तथा गर्भवतीलाई आयोडिनयुक्त नुन अत्यावश्यक हुने बताए । 'यस्तो अवस्थामा दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन सही मात्रामा प्रयोग गर्नुपर्छ,' उनले भने ।
सरकारले ‘थोरै खाऔँ, सही मात्रामा खाऔँ’ भन्दै दुई बालबालिका अङ्कित चिह्न भएको आयोडिनयुक्त नुन प्रयोग गर्न आग्रह गर्दै आएको छ । कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वृजकुमार दासले बालबालिकामा आयोडिनको कमी हुँदा मानसिक विकास कमजोर हुने, पढाइमा समस्या आउने, सुस्त मनस्थिति, बोल्न नसक्ने, आँखा डेढो हुने र शारीरिक विकासमा बाधा पुग्ने बताए ।
उनका अनुसार वयस्कमा आयोडिनको कमी भएमा गलगाँड, थाइराइड, मानसिक तथा शारीरिक क्षमतामा कमी जस्ता समस्या देखिन्छन्। बालबालिकामा हुने न्यूरोलोजिकल क्रेटिनिज्मको मुख्य कारण पनि आयोडिनको कमी नै हो ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले बजार अनुगमन गरेर स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने आयोडिनविहीन नुन बिक्री-वितरण रोक्ने प्रतिबद्धता व्यक्त गरिन् ।
सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सीमाना नाकाबाट नुन आयातमा कडाइ र बजार अनुगमनमार्फत आयोडिनविहीन नुन बिक्री-वितरण रोक्ने जानकारी दिए। उनले उपभोक्ता स्वयं सचेत हुनुपर्ने पनि बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग झापाका प्रमुख सुवासचन्द्र ओस्तीले नुन आयातमा अनुमति नदिइए पनि बजारमा आयोडिनविहीन नुन देखिनु चिन्ताजनक रहेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।
साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रबन्धक ब्रजेश झाका अनुसार देशमा नुनको आपूर्ति नियमित भइरहेको छ। गत आर्थिक वर्षमा करिब २ लाख १० हजार टन आयोडिनयुक्त नुन बिक्री-वितरण गरिएको र आपूर्ति अवरुद्ध नहोस् भनेर छ महिनासम्म पुग्ने मौज्दात राखिएको उनले बताए ।
मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले आयोडिनयुक्त नुनको विकल्प नभएको भन्दै तत्काल बजार अनुगमन गरेर आयोडिनविहीन नुन जफत गर्नुपर्ने माग गरे ।
नेपालमा विगतका दशकमा आयोडिनयुक्त नुन अभियानका कारण गलगाँड (गोइटर) रोग लगभग शून्यमा झरेको स्वास्थ्य अध्ययनहरूले देखाएका छन् ।