काठमाडौं । यसपालि मनसुनको समयमा २ लाख २६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ ।
कार्ययोजनामा भनिएको छ, ‘यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । समग्रमा यस वर्षको मनसुन अवधिमा मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण की प्रवक्ता शान्ति महतले त्यसमध्ये १ हजारदेखि ४ हजार घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुनसक्ने अनुमान गरिएको जानकारी दिइन् । उनका अनुसार यो सबैभन्दा खराब अवस्थाको परिदृश्यको करिब १० प्रतिशत बराबर हो । प्रदेश तथा स्थानीय तहमा विपद् पूर्वतयारी गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेशगत विश्लेषण गरी विपद् जोखिम आकलन गरिएको उनले बताइन् ।
कार्ययोजनामा यस वर्ष मनसुन अवधिमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना विगतको तुलनामा कम रहेको भए पनि सरदर तापक्रम वृद्धि हुनसक्ने आकलन गरिएको छ । जसका कारण केही उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोट भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढीजस्ता मनसुनजन्य विपद्को जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ ।
त्यसैगरी, दैनिक तापक्रममा वृद्धि हुने सम्भावना अधिक रहेकाले देशको दक्षिणी तराई क्षेत्रमा सर्वसाधारण अत्यधिक गर्मी वा तातो हावाको लहर (लु)बाट प्रभावित हुनसक्ने आकलन गरिएको प्रवक्ता महतले बताइन् ।
जल तथा मौसम विज्ञान विभाग ले यसअघि नै मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिसकेको छ ।
विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेस प्रदेशका पूर्वी भू-भाग तथा कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म रहेको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भाग, मधेस प्रदेशका पश्चिमी भू-भाग तथा कोशी प्रदेशका मध्य भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म रहेको छ ।
त्यसैगरी, कर्णाली प्रदेशका उत्तरी भू-भाग तथा कोशी प्रदेशका उत्तरी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भू-भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म रहेको उल्लेख छ ।
सोही आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरको सम्भावित विपद् प्रभावको आकलन गरी कार्ययोजना तयार पारेर लागू गरेको हो।