काठमाडौं । श्रीलंकाको कोलम्बोस्थित नेपाली दूतावासका लागि खरिद गरिएको जग्गा व्यक्तिको स्वामित्वमा पुगेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा कोलम्बोस्थित नेपाली दूतावासका लागि खरिद गरिएको जग्गाको स्वामित्व व्यक्तिको नाममा पुगेको देखिएको उल्लेख छ ।
प्रतिवेदनअनुसार श्रीलंकाको राजगिरियामा नेपाली राजदूतावास स्थापना गर्न सन् १९८९ मे १८ मा ३ लाख ६० हजार अमेरिकी डलरमा १.५ एकड जग्गा खरिद गरिएको थियो। तर हालसम्म उक्त जग्गा उपयोग विहीन अवस्थामा रहेको छ ।
महालेखापरीक्षकको कार्यालयका अनुसार चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पाउण्ड वाल निर्माण गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि जग्गाको स्वामित्व स्पष्ट हुन नसक्दा रकम खर्च हुन सकेन।
प्रतिवेदनमा उल्लेख भएअनुसार श्रीलंकाको सरकारी मूल्याङ्कनअनुसार हाल उक्त जग्गाको मूल्य करिब ६५ लाख अमेरिकी डलर पुगेको छ। तर नेपाल सरकारको नाममा रहेको आधिकारिक जग्गाधनी पुर्जा हालसम्म प्राप्त हुन सकेको छैन।
यसैबीच, श्रीलंकाको सरकारी घरजग्गा व्यवस्थापन निकायमा गरिएको खोजीका क्रममा नेपाल सरकारको नाममा रहेको जग्गामध्ये एक एकड जग्गा सन् १९९४ मे ९ सम्म दुई पटक निजी व्यक्तिलाई बिक्री भएको विवरण फेला परेको प्रतिवेदनमा उल्लेख छ।
महालेखापरीक्षकको कार्यालयले उक्त जग्गा पुनः नेपाल सरकारको स्वामित्वमा ल्याई संरक्षण तथा उपयोग सुनिश्चित गर्न आवश्यक पहल गर्न सरकारलाई सुझाव दिएको छ।