रेड कर्नर नोटिस जारी गरिएका लावती दुबईबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३६ वर्षीय सुवास लावती पक्राउ परेका छन् ।

बिहीबार पाँचथर मिक्लाजुङ गाउँपालिका-५ घर भएका ३६ वर्षीय लावतीलाई एनसीबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भनि पीडितलाई विभिन्न समयमा ११ लाख ६१ हजार रूपैयाँ बैंक खातामा जम्मा गर्न लगाई सम्पर्कविहीन भई ठगी गरेको मुद्दामा संलग्न रही फरार थिए।

खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८२ साउन २६ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो ।  

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Share News