३८ लाख बढी रकम हिनामिना गरेको आरोपमा बैंक र अस्पतालका कर्मचारी पक्राउ

काठमाडौं । अस्पतालको ३८ लाख रुपैयाँ बढी हिनामिना गरेको आरोपमा बैंक र अस्पतालका कर्मचारी पक्राउ परेका छन् । 

कपिलवस्तु शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पतालको रकम हिनामिना गरेको आरोपमा स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणि भट्टराई, ३० वर्षीय मेसु डा. अमित पाण्डे, अस्पतालकी फार्मेसी सहायक कर्मचारी ३७ वर्षीया रुक्सना खातुन, नेपाल बैंकका क्यासियर ३४ वर्षीय कमल भण्डारी र  बैंकका कार्यालय सहयोगी ३५ वर्षीय विक्रम केसी पक्राउ परेका हुन् ।
 
कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०८१/०८२ को सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्रीबापत संकलित रकम बैंकमा जम्मा नभएको भन्ने उजुरीपछि अनुसन्धान सुरु भएको थियो ।

शिवराज नगरपालिकाको च.नं. २१९४ वैशाख ४ गतेको पत्रमार्फत छानबिनको माग गरिएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान बढाएको हो ।

बैंक भौचरहरू फाइलमा भए पनि सोअनुसारको रकम बैंक खातामा जम्मा नभएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।

उनका अनुसार लेखा परीक्षणका क्रममा विभिन्न मितिका १२९ थान भौचर बमोजिम कुल ३८ लाख १९ हजार ७७० रुपैयाँ बराबरको रकम बैंकमा दाखिला देखिएन । 

रकम हिनामिना भएको उजुरी दर्ता भएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूले सरकारी अस्पतालको नक्कली भौचर तयार गरी संगठित रूपमा ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप छ ।

पक्राउ परेकाहरूलाई कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।

Share News