पाकिस्तानको खैबर पख्तुनख्व प्रान्तअन्तर्गत बन्नू जिल्लामा रहेको एक प्रहरी चौकीमा भएको चरमपन्थी हमलामा ज्यान गुमाउने प्रहरीको संख्या बढेर १५ पुगेको छ ।
बन्नू मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृतकको संख्या पुष्टि गरेका हुन् । उनका अनुसार ज्यान गुमाउने सबै व्यक्ति प्रहरी कर्मचारी थिए ।
यसका साथै तीन जना घाइतेलाई पनि अस्पताल ल्याइएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
यसअघि बन्नू रेञ्ज प्रहरी अधिकारी सज्जाद खानको कार्यालयद्वारा जारी विज्ञप्तिमा फतेह खेल चौकीको भवनको भग्नावशेषबाट १२ जना प्रहरीकर्मीको शव निकालिएको तथा तीन जनालाई जीवितै उद्धार गरिएको उल्लेख गरिएको थियो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार बन्नू शहरको बाहिरी क्षेत्रमा रहेको प्रहरी चौकीमा विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्किएको थियो ।
एक सुरक्षा अधिकारीले विस्फोटपछि चरमपन्थीहरू चौकीभित्र प्रवेश गरी प्रहरीमाथि गोली प्रहार गरेको दाबी पनि गरेका छन् ।