नेपालगन्ज । बाँकेमा प्रहरीले स्रोत नखुलेको ६ लाख भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिका–२ स्थित एकलैनीबाट नरैनापुर गाउँपालिका–५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका–४ बस्ने ३८ वर्षी मुनिव खाँलाई पक्राउ गरिएको उनले बताए । सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
त्यसैगरी प्रहरीले नेपालगन्जमा करिब रु तीन लाख ४६ हजार बराबरको भन्सार छली गरेर ल्याएका सामान बरामद गरेको छ । नेपालगन्जको वडा नं ३, १० र १७ बाट प्रहरीले भन्सार छली गरेर ल्याएको चुरोट, पान मसला, पेय पदार्थ र बोइलर कुखुरा ल्याउने यूपी ४० एस २०७८, भे२प ७५७८, भे९प ७०६४ नं को मोटरसाइकल समेत बरामद गरेको जनाएको छ । बरामद गरिएका सबैसामान भन्सार कार्यालय, नेपालगन्जमा बुझाइएको प्रहरीले जनाएको छ ।