सीमापार किनमेल घट्दै, नेपाली बजारमा कारोबार बढ्दै

काठमाडौं । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्न नेपाल सरकारले केही दिनयतादेखि सीमा नाकामा कडाइ गरेपछि यस क्षेत्रका उद्योग-व्यवसायहरू चलायमान बन्न थालेका छन् । जसका कारण नेपालतर्फका व्यवसायीहरूले खुसी पनि व्यक्त गरेका छन् ।

घरायसी प्रयोजनका नाममा भारतबाट १ सय रुपैयाँ भन्दा बढी मूल्यका सामान खरिद गरी नेपाल ल्याइँदा भन्सार महसुल अनिवार्य गरिएपछि सुनौली नाका क्षेत्रको नेपालतर्फका व्यापारी एवं व्यवसायीहरूले खुसी व्यक्त गर्दै यस क्षेत्रको व्यवसायमा चहलपहल बढेको बताएका हुन् । यसबाट नेपालको राजस्व बढ्नुका साथै स्थानीय व्यवसायीहरूमा पनि राहत मिल्ने उनीहरुको दाबी रहेको छ । प्रायः नेपाली पसल बजार नहेर्ने गरेका स्थानीय लगायतका नागरिकहरू अब पारिबाट ल्याउनुपर्ने सामानको भन्सार अनिवार्य भएपछि नेपाली बजारतर्फ नै आकर्षित भएका हुन् ।

यसबाट स्वदेशी बजारको प्रवर्द्धन हुनुका साथै सामान किनमेल गर्न भारत जाने प्रवृत्तिमा पनि स्वतः कमी आएको उनीहरुको अनुभव छ । साथै सानोदेखि ठूलो किनमेलका लागि पनि भारततर्फ नै पुग्ने गरिएको विगतको प्रवृत्ति यसबाट निरुत्साहित हुन पुगेको पनि व्यवसायी बताउँछन् ।

यस क्षेत्रमा वारितर्फ नेपाली बजार पनि प्रशस्त मात्रामा नै रहे पनि खासै चहलपहल हुने गरेको थिएन । किनभने स्थानीय नागरिकहरू सानोतिनो देखि ठूला सामानसम्मको किनमेल गर्न पारितर्फको बजार अर्थात् भारतीय बजार जाने भएकाले राज्यको भन्सार तथा राजस्वमा पनि गिरावट आएको थियो ।

अहिले भने केही दिनयतादेखि नेपालतर्फको बजार चलायमान हुन थालेको छ । पारिबाट ल्याइएका एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार लाग्ने नीतिले गर्दा उताबाट ल्याइएका सामान महङ्गो पर्न गई यतैतर्फ अर्थात् नेपाली बजारमा नै किनमेल बढ्न थालेको उनीहरुको तर्क छ ।

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले १ सय रुपैयाँ भन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार गर्नुपर्ने कार्य उद्योगी-व्यवसायीका लागि सकारात्मक भएको बताए । ‘हामीले सुरुदेखि नै आवाज उठाउँदै आएको विषय पनि यो हो,’ उनले भने, ‘निरन्तर तस्करी गर्नेलाई रोक्नुपर्छ । १ सय रूपैयाँ बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्दा रात्रिको समयमा हुने गरेको तस्करीलाई पनि नियन्त्रण गर्नुपर्छ ।’

घरायसी प्रयोजनका नाममा दिनमा धेरै पटक ओहोरदोहोर गरेर सामान ल्याउनेलाई निगरानी र कडाइ गर्नुपर्ने उनको भनाइ छ । अवैध रुपमा सामान भित्र्याउने कार्यलाई नियन्त्रण गर्नुपर्ने अध्यक्ष रोक्काको माग छ । यसरी ओहोरदोहोर गर्ने कतिपय मानिसहरूको काम नै उताबाट सामान सार्ने हुने गरेको छ । यसबाट नेपाली बजारमा हुने किनबेचमा ह्रास आउने मात्र नभएर अर्कातर्फ नेपालले प्राप्त गर्ने भन्सारमा पनि कमी आउने गरेको छ । साथै यसले नेपालतर्फका सानादेखि ठूलासम्मका पसल व्यवसाय सञ्चालन गर्ने व्यवसायीले पनि व्यवसायलाई निरन्तरता दिन नसकेको अवस्था पनि निकै लामो समयदेखि रही आएको छ ।

त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका पूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले भारतमा सामान सस्तो पाइन्छ भन्ने नेपाली उपभोक्ताको मानसिकता बदल्न जरुरी रहेको बताए । उनले कतिपय सामान भारतभन्दा नेपालमा सस्तो रहेको बताए । उनले सरकारले गरेको यो काम स्वागतयोग्य भएको बताए । तर अवैध रुपमा भित्रिने सामानलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भन्सारमा कडाइ गरिँदा राजस्व वृद्धि हुनुका साथै स्वदेशी बजार पनि चलायमान हुने बताए । स्वदेशमा व्यवसाय फस्टाउँदा यसले मुलुकको अर्थतन्त्रमा पनि योगदान पुग्ने उनको धारणा छ । ‘सीमापार सामान किन्न जाने बहानामा लागूऔषध सेवन गर्न जाने काम पनि भइरहेको पाइएको छ, सामान भारतीय बजारमा खरिद गर्न नजाँदा निश्चय पनि फरक पर्छ,’ उनले भने ।

अध्यक्ष ठाकुरले सीमा नजिकका मात्र नभई पहाडी जिल्लाहरूबाट पनि भारतीय बजारमा सामान किनमेल गर्न नेपाली उपभोक्ता जाने हुँदा राज्यको यस खालको कदमले स्थानीय बजार प्रवर्द्धन हुने बताए । ‘यो नियम पहिलकै हो, अहिले सरकारले कार्यान्वयन गरेको छ । यो नियमको सबैले पालना गर्नुपर्छ र नागरिकले सरकारलाई सहयोग गर्नुपर्छ,’ उनले भने ।

भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देहीका भन्सार अधिकृत तथा सूचना अधिकारी उद्धव ढुङ्गानाले १ सय रुपैयाँ भन्दा बढीका सामान ल्याउनेलाई सम्झाइबुझाइ भन्सार तिर्नुपर्छ भन्ने जागरुक बनाएर भन्सार लिइरहेको बताए । ‘खासगरी यो त पहिलेदेखिको नियम हो, हामीले सीमापारी भारतबाट सामान ल्याउनेलाई अब नआउनुहोला, आए भन्सार तिर्नुपर्छ भनिरहेका छौँ,’ उनले भने ।

सर्वसाधारण यात्रुले आफ्नै घरका लागि न्यून परिमाणमा ल्याउने सामानलाई भने व्यवहारिक रूपमा हेर्ने गरिएको उनले बताए । तर कानूनअनुसार सामान ल्याउने बाहेककालाई भने भन्सार लगाउने गरिएको पनि उनले जानकारी दिए । वर्तमान सरकारले सीमा क्षेत्रमा १ सय रुपैयाँ भन्सारको नीति अपनाएको छ । यसबाट लामो समयदेखि सामान ओसारपसार गर्दै आएका स्थानीयमा सुरुमा केही असहज भए पनि अहिले भने विस्तारै बानी पर्न थालेको उनीहरू बताउँछन् । पहिले पनि यो नियम त थियो तर पनि भन्सारमा कडाइ नगर्दा सामान बिना भन्सार नै भित्रिने गरेको थियो । तर अहिले त्यस्तो अवस्था नरहेको स्थानीयको भनाइ छ ।

Share News