यी हुन् रास्वपा सचिवालय बैठकका पाँच निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न नीतिगत तथा संगठनात्मक निर्णयहरू सार्वजनिक गरेको छ । 

पार्टीका प्रवक्ता मनिष झाले बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले मुलुकभर रहेका अव्यवस्थित बसोबासको समस्यालाई सम्बोधन गर्न सरकारलाई चाँडै अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सुझाव दिएको छ ।

वास्तविक भूमिहीन सुकुम्बासीहरूको संरक्षण र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै रास्वपाले प्राधिकरणको प्रतिवेदन नआएसम्म अन्य व्यक्तिमाथि कुनै कारबाही अघि नबढाउन आग्रह गरेको छ । 

साथै स्थानीय तहहरूले संरचना भत्काउने कार्य गरिरहेको सन्दर्भमा त्यसलाई पनि संवेदनशील ढंगले व्यवस्थापन गर्न पार्टीले स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ ।

त्यसैगरी, आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया स्पष्ट पार्दै ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ पारित गरिएको छ । उक्त रूपरेखा कार्यान्वयनका लागि सहमहामन्त्री विपिनकुमार आचार्य को संयोजकत्वमा समिति गठन गरिएको जनाइएको छ ।

बैठकले पार्टीको संसदीय दलको संशोधित विधान अनुमोदन गर्नुका साथै पार्टीको पहिलो महाधिवेशन सम्पन्न गर्न ‘महाधिवेशन कार्यविधि–२०८३’ पनि पारित गरेको छ ।

यसैबीच, बागमती प्रदेश समितिको सिफारिसका आधारमा रसुवा जिल्ला समिति विघटन गरी नयाँ प्रक्रियाबाट पुनर्गठन गर्ने निर्णय पनि गरिएको छ ।

रास्वपाले यी निर्णयहरूलाई संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र र जनसरोकारका मुद्दाहरू समाधान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ ।
 

Share News