काठमाडौं । सहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ ।
मन्त्रालयले आइतबार (आज) एक प्रेस नोट जारी गर्दै स्थानान्तरण प्रक्रियामा सहभागी हुन बाँकी रहेका र समस्यामा परेका नागरिकहरूलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
विशेषगरी सहायता आवश्यक भएका र हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई तत्कालका लागि दशरथ रंगशालामा स्थापना गरिएको प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई आफ्नो विवरण दर्ता गराउन अनुरोध गरिएको हो ।
मन्त्रालयका अनुसार वास्तविक भूमिहीन नागरिकहरूको पहिचानका लागि डिजिटल लगत संकलनको काम भइरहेको छ । दर्ता भएका नागरिकहरूका लागि सरकारले होल्डिङ सेन्टरमार्फत आवश्यक व्यवस्थापन मिलाएको छ ।
उक्त होल्डिङ सेन्टरमा नागरिकहरूका सुरक्षित आवास तथा पोषणयुक्त भोजन, निःशुल्क स्वास्थ्य सेवा, बालबालिकाको शिक्षाको उचित प्रबन्ध, मनोवैज्ञानिक परामर्श सेवा लगायतका सेवासुविधा रहेको मन्त्रालयले जनाएको छ ।
वास्तविक भूमिहीन तथा आर्थिक कमजोरीका कारण आफै व्यवस्थापन गर्न असमर्थ नागरिकहरूलाई दशरथ रंगशालास्थित केन्द्रमा गई सरकारद्वारा उपलब्ध गराइएका सेवासुविधाको लाभ लिन मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले नागरिकहरूको सुरक्षित, व्यवस्थित र दीर्घकालीन पुनस्र्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ ।