काठमाडौं । उद्यमी-व्यवसायी जाँच पास प्रक्रियामा सहभागी नहुँदा वीरगञ्ज भन्सारलगायत मुलुकका विभिन्न भागमा अवस्थित भन्सार कार्यालयबाट राजस्व सङ्कलन प्रभावित भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा २ दिनदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँच पास प्रक्रियामा सहभागी भएका छैनन् ।
आयातकर्ता भन्सार जाँच पास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मको प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो ।
उद्यमी–व्यवसायीको असहयोगका कारण राजस्व सङ्कलन प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख कृष्णप्रसाद मैनालीका अनुसार आयात-निर्यातकर्ताले जाँच पासको फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँच पास रोकिएको हो ।
सरकारको हालैको निर्णयअनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रुपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो ।
पेट्रोलियम पदार्थ, साग सब्जी, फलफूल तथा औद्योगिक कच्चा पदार्थको भन्सार जाँच पासमा कुनै समस्या नभएको विभागले जनाएको छ । त्यसबाट ३१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । वीरगन्ज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व सङ्कलन गर्दै आएको छ ।
यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले एमआरपी अव्यावहारिक भएकाले आफूहरू भन्सार जाँच पास प्रक्रियामा सहभागी नभएको बताए ।