काठमाडौं । नेपालले वैदेशिक व्यापारमा दैनिक २ अर्ब ४१ करोड भन्दा बढि घाटा व्यहोरिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको ८ महिनाको वैदेशिक व्यापारको तथ्यांकका अनुसार नेपालले दैनिक औषत २ अर्ब ४१ करोड भन्दा बढि व्यापार घाटा व्यहोर्दै आएको हो ।
केन्द्रिय बैंकको तथ्यांक अनुसार नेपालले सो अवधीमा कुल ५४० अर्ब ३४ करोडको व्यापार घाटा व्यहोरेको छ । सो अवधीमा नेपालले ६२६ अर्ब ५६ करोडको समान आयात गरेको छ जुन अघिल्लो बर्षको ८ महिनाको भन्दा ४४ दशमलब २ प्रतिशत बढि हो । तर नेपालको निर्यात भने जम्मा ४८ अर्ब २२ करोडमै सिमित भएको देखिन्छ । यद्यपी यो अघिल्लो आवको सोहि अवधीको भन्दा १२ दशमबल ८ प्रतिशत बढि हो ।
आठ महिनामा मुलुकको निर्यात–आयात अनुपात ७ दशमलब ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो । भारततर्फ १६.३ प्रतिशत, चीनतर्फ १३.४ प्रतिशत र अन्य मुलुकतर्फ ८.२ प्रतिशतले निर्यात बढेको छ ।
वस्तुगत आधारमा जुस, पिना, रोजिन, चाउचाउ, तार लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, पोलिष्टर धागो, तयारी पोशाक, उनी गलैचा लगायतका वस्तुहरुको निर्यात घटेको छ । ८ महिनामा भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६.२ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस विलेट, अन्य मेशिनरी तथा पार्टपुर्जा, सिमेन्ट, लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट ईन क्वाईल, कच्चा रेशम, तयारी पोशाक लगायतका वस्तुहरुको आयात घटेको छ ।
भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ कैलाली भन्सार र भैरहवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।